नयाँबजारमा ग्यास बिस्फोट • किरियापुत्रीसहित ११ घाइते • एक घर ध्वस्त • १० घरमा क्षति
Janjati Khabar – Janjati Khabar | २०७७ आश्विन २९, बिहिबार
काठमाडौं – काठमाडौं महानगरपालिका–१६, नयाँ बजारको फलफूल चोकस्थित एक घरमा ग्यास सिलिण्डर बिस्फोट भएको छ ।
निरकुमारी क्षेत्रीको घरमा बिस्फोट भएको हो । किरियापुत्री बसेको कोठामा ग्यास बाल्ने क्रममा विस्फोट भएको हो ।
३३ वर्षका संकल्प क्षेत्रीका अनुसार सुरुमा भुइँ तलाको भर्याङ छेउमा ग्यास बाल्ने क्रममा लिक भएर आगलागी भएको थियो । त्यहाँ अर्को सिलिण्डर पनि थियो र विस्फोट हुँदा ठूलो क्षति भएको हो ।
विस्फोटमा ११ जना घाइते भएका छन् । उनीहरुमध्ये गम्भीर घाइते चार जनालाई मनमोहन अस्पताल लगिएको छ । विस्फोटले झ्यालका सीसा फुट्नुका साथै भित्ता नै भत्किएकाले धेरैलाई चोट लागेको बताइएको छ ।
विस्फोटबाट ठूलो क्षति भएकाले महानगरीय प्रहरी परिषद, काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवाली आफैं घटनास्थलमा पुगेका छन् ।
ज्ञवालीका अनुसार बिस्फोटबाट क्षेत्रीको चारतले घर ध्वस्त भएको छ भने अन्य १० वटा घरमा क्षति पुगेको छ । क्षेत्रीको घरसँगै अन्य घर पनि जोडिएकाले क्षति भएको हो । किरियापुत्री बसेका क्षेत्रीको घरका तीनजना घाइते छन् । अरु घाइते छिमेकी भएको बताइएको छ ।
छिमेकीहरुले भने भान्सामा चार वटासम्म ग्यास सिलिन्डर भएको हुनसक्ने आकलन गरेका छन् । बिस्फोटपछि सो क्षेत्रका स्थानीय त्रसित बनेका थिए । सिसा फुट्दा बाटोमा हिँडिरहेकाहरुलाई पनि चोट लागेको छ ।
Categorized in अपराध-दुर्घटना

