STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नयाँ दल खाेल्ने कसरतमा थापा–राणा

Janjati Khabar – Janjati Khabar | २०७८ मङ्सिर १९, आइतबार

राप्रपाको अध्यक्षमा पराजित भएपछि कमल थापाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई स्वीकार गरेर बसिरहलान् ? अहिले राप्रपाभित्रै यो प्रश्न गम्भीर रूपमा उठेको छ । 

अध्यक्षमा थापा पराजित भएपछि थापा र पशुपतिशमशेर राणा नयाँ पार्टी गठनबारे अनाैपचारिक छलफल चलाउन थालेका छन् । थापानिकट एक केन्द्रीय सदस्यले थापा र राणा नयाँ पार्टी बनाउने तयारीमा रहेको दाबी गरे ।

उनका अनुसार त्यसका लागि केही महिना भने लाग्नेछ । अहिले नै तयारी गर्दा गलत अर्थ लाग्ने भएकाले स्थानीय निर्वाचनकाे ठीक अघितिर नयाँ पार्टी बनाउन सकिने ती नेताकाे दाबी छ । थापानिकट ती नेताले शिलापत्रसँग भने, ‘हामी  पराजित भयौँ भने पनि के गर्ने भन्ने पहिला नै क्लियर थियौँ, अब नयाँ पार्टी बन्छ ।’ 

थापाको टिममा रहेका ती केन्द्रीय सदस्य पनि पराजित भएका छन् । त्यसैले अबको रणनीति भनेको नयाँ पार्टी निर्माण नै हुने दाबी गर्छन् । थापा र राणाले बनाउने पार्टीको मूल उद्देश्य भने हिन्दुराष्ट्र स्थापना हुनेछ ।

पशुपतिशमशेर राणाले तटस्थ बस्ने भने पनि अन्तिममा अध्यक्षका उम्मेदवार थापालाई समर्थन गरेका थिए । थापा र राणाबीच अनौपचारिक सहमति पनि भएको थियो ।

थापानिकट स्रोतका अनुसार थापा र राणाबीच दुईवटा सहमति भएको थियो । एक, अबको निर्वाचनमा समानुपातिकको सूचीमा पहिलो नम्बरमा पशुपति शमशेरको नाम राख्ने र दोस्रो, सांसद बनाउने अनि गठबन्धनको सरकार बन्दा राणाको इच्छा अनुसार निर्णय लिने । त्यही सहमतिका आधारमा मतदानका दिन थापालाई सहयोग पुग्ने गरी राणाले विज्ञप्ति निकालेका थिए । 

मतदानको दिन बिहान नै निवर्तमान अर्का अध्यक्ष पशुपतिशमशेर राणाले काँचो नेतृत्वको पक्षमा नरहेको भनेर विजयवासबाट मतदातालाई सन्देश प्रवाहित गरे । लिङ्देनलाई निर्मल निवासले ग्रीन सिग्नल दिएपछि अध्यक्षका प्रत्यासी थापा निर्मल निवाससँग आक्रोशित पनि थिए ।

महाधिवेशन उद्घाटनसत्रमा थापाले भनेका थिए विगतमा पार्टी विभाजन गराउने विभिन्न समूह सक्रिय भएका थिए, जसको इतिहासमा समीक्षा हुनेछ । थापाको सिधा संकेत दरबारप्रति थियो । 

त्यही सम्बोधनमा थापाले पार्टी एकता कायम राख्ने पनि बताएका थिए । उनले पार्टी टुटफुट भइरहेको विगतबाट पाठ सिकेर अब पार्टी नफुटाउने दाबी गरेका थिए । 

 

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन्। उनले अध्यक्षका अर्का उम्मेदवार कमल थापालाई हराएका छन्। थापाले आफ्नो हार स्वीकार गर्दै लिङ्देनलाई बधाई दिएका छन् ।लिङ्देनले १८१७ र थापाले १६१८ मत ल्याएका छन् । ४३१ मत बदर भएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीलाई अरुको भन्दा फरक ढंगले नेतृत्व दिने दाबी गरेका छन् । आइतबार पार्टीको अध्यक्षमा विजयी भएपछि आयोजित सभामा बोल्दै नवनिर्वाचित अध्यक्ष लिङदेनले आफ्नो कार्यकालमा पार्टीलाई फरक तरीकाबाट नेतृत्व गर्ने दाबी गरेका हुन् ।

नवनिर्वाचित अध्यक्ष लिङदेनले पार्टीलाई विगतको जस्तो गतिहीन र निस्क्रिय बनाउने छुट आफूलाई नरहेको भन्दै पार्टीलाई मात्र नभइ पार्टीका मुद्दालाई जोड दिने बताए । उनले बाध्यकारी कदमको रुपमा नेतृत्व परिवर्तन गर्नुपरेको भन्दै अब राप्रपामा गुटहरु नहुने समेत दाबी गरे । नवनिर्वाचित अध्यक्ष लिङदेनले अब पार्टीका नेता, कार्यकर्ताले कोही एक व्यक्तिको नामबाट नभइ राप्रपाको कार्यकर्ता भएर भोट माग्न जान पाउने बताए ।

Categorized in राजनीति