STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नयाँ पुस्तामा संस्कृति भन्ने उद्देश्य सहित बाल दिवस मेला

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ भाद्र २६, बुधबार

लभ्ली होमले ललितपुरको आयोजनामा हुने बाल मेला सम्बन्धि जानकारी दिन आयोजित प्रेस सम्मेलनमा लभ्ली होम प्रिस्कूलकी संस्थापक माहेश्वरी अमात्यले 

‘हामी फाडर्ज डे, मडर्ज डे धुमधामका साथ मनाउँछौं, त्यहि फाडर्ज डे मडर्ज डेलाई उत्सवको रुप दिने बालबालिकाको बाल दिवस मनाउँछौं त ?’ भन्ने गम्भीर प्रश्न  उठाएकि छिन् ।

‘बालबालिकाको बाल्यकाललाई उत्सवमय बनाउन सक्यौं भने उनीहरुको भविष्य उज्वल बनाउन टेवा पुग्छ, त्यसैले बाल दिवस पनि धुमधामका साथ किन नमनाउने त ?’ लभ्ली होमकी संस्थापक अमात्यले थपिन् ।

मंगलबार लभ्ली होमले ललितपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा संस्थापक अमात्यले यस्तो भनेकी हुन् ।

आउँदो भाद्र २९ गते राष्ट्रिय बाल दिवसको अवसरमा लभ्ली होमले ललितपुर जाउलाखेलस्थित खेल मैदानमा ‘बाल दिवस मेला २०८१’ को आयोजना गर्ने भएको छ ।

विभिन्न सांस्कृतिक कार्यक्रम र विद्यार्थीहरुको लागि खेल गतिविधिसहित मेलाको आयोजना गर्न लागेको जानकारी पत्रकार सम्मेलनमा दिइएको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै संस्थापक अमात्यले खेल, सांस्कृतिक र विभिन्न गतिविधिहरुसहित बालबालिकाको बाल्यकाललाई अभिभावकहरुसँग जोड्दै मेलाको आयोजना गर्न लागेको बताइन् ।

‘बालबालिकाको बालापनसँग जोड्दै अभिभावकलाई आफ्नो बाल्यकालको अनुभूति गराउन चाहन्छौं । विना कुनै वाधा अवरोध बालबालिकालाई स्वतन्त्र रुपमा मनोरन्जनको साथमा सिकाइको वातावरण दिन चाहन्छौं, जसले बाल दिवसलाई एउटा उत्सवको रुप दिओस्’ अमात्यको भनाई हो ।

कार्यक्रममा अन्य मनोरन्जनात्मक प्रस्तुतिहरुको साथै सिकाइ र पुस्तान्तरणको माध्यमको रुपमा विद्यार्थीहरुबाट लाखेय्, पुलुकिसिको प्रस्तुति समेत रहने जानकारी लभ्ली होमका डान्स कोअर्डिनेटर सुजन बज्राचार्यले भने ।

सोही पत्रकार सम्मेलनमा यल लाय्कू मिप्वाः लाखय् पुचःका संयोजक उत्तम रत्न शाक्यले लाखेय् लगायतका स्थानीय संस्कृतिसँग जोडिएका मूर्त र अमूर्त सम्पदालाई यसको मूल्य मान्यता कायम राख्दै विद्यार्थीहरुमार्फत पुस्तान्तरण हुनु राम्रो विषय भएको विचार राखे ।

‘विद्यार्थीहरु लाखय् नाच नाच्छन् भने उनीहरुले लाखयबारे थाहा पाउँछन्, सिक्छन् । जथाभावी ठाउँमा नचाउँदै दुरुपयोग पो हुनु भएन, भविष्यका कर्णधारहरुलाई संस्कृति सिकाउनु त राम्रो कुरा हो’ संयोजक शाक्यले भने ।

कार्यक्रममा विभिन्न सांस्कृतिक गतिविधिको साथमा कार्यक्रमको मुख्य आकर्षणको रुपमा निशा देसार र रोजमान महर्जनको प्रस्तुति रहने जानकारी पत्रकार सम्मेलनमा दिइएको थियो ।

साथमा विभिन्न खाद्य परिकारका स्टलहरु, खेल गतिविधिहरुसहित विहानको ११ बजेदेखि साँझको ४ बजेसम्म मेलाको आयोजना हुने जानकारी आयोजकले दिएको छ ।

मेलामा स्कूलका विद्यार्थी, अभिभावक, अन्य स्कूल, प्रिस्कूल, मन्टेश्वरीका प्रतिनिधि, विभिन्न शैक्षिक संस्थाका प्रतिनिधिसमेत गरी पाँच हजार बढिले मेलाको अवलोकन गर्ने अपेक्षा आयोजकको रहेको छ ।

तस्वीर - विक्रम खडगी

Categorized in साहित्य-कला