नववर्षको अवसरमा आज भर्चुअल शुभकामना सभा
Janjati Khabar – जनजातिखबर संवाददाता | २०७७ कार्तिक २९, शनिबार
नेपाल संवत् ११४१ नववर्ष मनाउन भर्चुअल शुभकामना सभा हुने भएको छ ।
आज शनिबार दिउँसो २ बजे थिमि ब्यांक्वेटमा हुने सो भर्चुअल सभालाई नेवाः युट्युबले आफ्नो फेसबुक पृष्ठबाट प्रत्यक्ष प्रशारण गर्ने भएको छ ।
नेपाल संवत्का विविध पक्षमा अनुसन्धान गर्दैआएका काशिनाथ तमोटको मुख्य आतिथ्यमा हुने उक्त भर्चुअल सभालाई नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४१, नेवाः देय् दबू, राष्ट्रिय विभूति शंखधर प्रतिष्ठान, नेपालभाषा मंकाः खलः, नेपालभाषा मंकाः खलः ललितपुर, न्हूदँ समारोह समिति ललितपुरले संयुक्त आयोजना गर्दैछ ।
कोरोना महामारीको कारण यस वर्ष नववर्षको सांस्कृतिक ¥यालीलगायत भिडभाड हुने सभा, समारोह सम्भव नरहेको अवस्थामा नेपाल संवत् आन्दोलनमा अग्रसर संघसंस्थाहरुले संयुक्त सभा गरी नेपाल संवत्लाई आन्दोलनको रुपमा मनाउनुपर्ने सन्देश दिने उद्देश्य लिएको छ ।
आजको संयुक्त सभाले राज्यले नेपाल संवत्लाई लिएर गरिरहेको व्यवहारमा रहेको कमिकमजोरीको विषय खुट्याउने तथा नेपाल संवत् मनाउँदै आएका विभिन्न संघसंस्थाहरुबीच एकता बढ्ने आशा आयोजकले लिएको छ ।
आज हुने संयुक्त सभाका आयोजकहरुले केही दिनअघि मात्र मंसिर १ गते भिडभाड नहुनेगरी नववर्ष मनाउने र विभिन्न संचार माध्यमबाट प्रचारप्रसार गर्न आह्वान गरेको थियो । यसैगरी तिहारमा नेवारहरुले मनाउँदै आएको नववर्ष, म्हपुजा र भाइटीको मितिमा एकरुपता नरहेको विषयमा आरोप प्रत्यारोप नगरी मनमुटाव ननिकाल्न समेत अनुरोध गरेको थियो ।
Categorized in राष्ट्रिय


