STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नवीन्द्रराज जोशीको परिवारले सरकारले दिने १० लाख नलिने

Janjati Khabar – Janjati Khabar | २०७७ चैत्र ८, आइतबार

काठमाडौँ - सरकारले नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारका लागि १० लाख रूपैयाँ दिने घोषणा गरेकोमा जोशीका परिवारले उक्त रकम लिन अस्वीकार गरेका छन्।

बिहीबारको मन्त्रिपरिषद बैठकले मस्तिष्कघातपछि उपचार गराइरहेका जोशीलाई सरकारका तर्फबाट १० लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो।

शुक्रबार उपप्रधानमन्त्री ईश्वर पोखरेल जोशीको स्वास्थ्य अवस्थाबारे बुझ्न नर्भिक अस्पताल पुगेका थिए। उनले सरकारले उपचारका लागि १० लाख सहयोग गर्ने निर्णय गरेको बताएका थिए।

जोशीका स्वकीय सचिव पुष्कर पाण्डेले सरकारले दिने भनेको रकम लिन जोशी परिवारले अस्वीकार गरेको बताए।

‘उहाँको उपचारका लागि १० लाख दिने निर्णय भएको भनेर प्रधानमन्त्री कार्यालयबाट फोन आएको थियो,’ उनले भने, ‘उहाँको परिवारले उक्त सहयोग रकम अस्वीकार गर्ने बताउनुभएको छ।’

जोशीले वीर अस्पतालदेखि विभिन्न ठाउँमा लाखौंको अक्षयकोष यसअघि नै स्थापना गरेको उल्लेख गर्दै उनले भने, ‘सरकारले दिने भनेको रकमले औषधि पनि किन्न पुग्दैन।’

फागुन १४ मा मस्तिष्कघात भएपछि जोशीलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

Categorized in राजनीति