STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नाइजेरियामा छ हजार शिक्षक आवश्यक

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २७, सोमबार

नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा शिक्षाको गुणस्तर सुधार गर्न करिब छ हजार थप शिक्षक आवश्यक रहेको नाइजेरियाका शिक्षा अधिकारीहरुले बताएका छन् । नाइजेरियाली शिक्षक युनियन एनयूटी का अध्यक्ष जिब्रिल मुहम्मदले सरकारले बोर्नो राज्यमा राम्रा र सुविधायुक्त विद्यालयहरु निर्माण गरिरहेको भएपनि शिक्षकको चरम अभाव रहेको बताउनुभयो । उहाँले शिक्षकहरुलाई उत्प्रेरित गर्ने किसिमका कार्यक्रम ल्याइए शिक्षाको गुणस्तर सुधारमा उल्लेखनीय प्रगति हुने पनि बताउनुभयो । बोर्नोको राजधानी शहर माइदीगुरीमा बोल्दै उहाँले राज्यमा बोको हराम आतङ्कवादीका कारण सहाराविहीन भएका करिब ५३ हजार बालबालिकाका लागि ४० वटा ठूला विद्यालय खोलिए पनि त्यहाँ राम्रोसँग पठनपाठन हुन अझै नसकेको बताउनुभयो । नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा आतङ्कवादी समूह बोको हरामका कारण विद्यालय शिक्षाको अवस्था अत्यन्त नाजुक बनेको छ । मुहम्मदले सिकाई र पढाईका लागि बार्नोमा पाँच हजार प्राथमिक तह र एक हजार माध्यमिक तहका शिक्षक आवश्यक भइसकेको बताउनुभयो । बोको हरामको आक्रमणबाट सबैभन्दा बढी प्रभावित शिक्षकहरु भएका छन् । बोको हरामकै कारण बोर्नोमा करिब ५३० जना शिक्षक मारिएका छन् भने ३२ हजारभन्दा बढी विस्थापित भएका छन् । तेलको धनी पश्चिम अफ्रिकी मुलुक नाइजेरियामा शिक्षकहरुले सबैभन्दा कम वेतन पाउने गर्दछन् । हिंसाका कारण सन् २००९ यतामात्र बोर्नो राज्यमा करिब २७ हजार मानिस मारिएका छन् ।
Categorized in अन्तर्राष्ट्रिय