STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नागार्जुनमा गणेशमान उद्यान बन्ने

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १३, बुधबार

नागार्जुन नगरपालिका–६ मा गणेशमान स्मृति उद्यान निर्माण गरिने भएको छ । काठमाडौँ जिल्लाका प्रत्येक नगरपालिकामा ‘एक वडा एक पार्क’ बनाउने काठमाडौँ महानगरपालिकाको नीतिअनुसार नगरपालिका–६ स्थित डाँडापौवामा गणेशमान स्मृति उद्यान निर्माण गरिने नगर प्रमुख मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो । कामपाले उद्यान बनाउन जिल्लाका १० नगरपालिकालाई रु एक एक करोड उपलब्ध गराएको छ । कामपा र नगरपालिकाको सहकार्यमा पूर्वमा निजी जग्गा, पश्चिममा श्यामेश्वर गणेशमान सामुदायिक वन, उत्तरमा निजी आवास क्षेत्र र दक्षिण बाटो चार किल्लाभित्र करीब २२ रोपनी क्षेत्रफलमा रु चार करोड ८३ लाखको लागतमा उद्यान निर्माण गरिने नगर प्रमुख बस्नेतले बताउनुभयो । सो उद्यान निर्माणसम्बन्धी सम्झौता भएर विस्तृत परियोजना प्रतिवेदन तयार भई बोलपत्रमा जाने क्रममा रहेको बताइएको छ । उक्त उद्यानमा लौहपुरुष गणेशमान सिंहको शालिक स्थापना र उहाँको जीवनीका मूलभूत अवस्था उल्लेख गरी नगरपालिकाका १० वटै वडामा रहेका मुख्य धार्मिक, ऐतिहासिक, पुरातात्विक, प्राकृतिक र सांस्कृतिक पहिचान झल्कने आकृति तयार गरिनेछन् । साथै पृथ्वीनारायण शाहले उपत्यका विजय गर्दा प्रवेश मार्गका रूपमा प्रयोग गरेको स्थानका रुपमा झल्कने आवश्यक व्यक्तिको पहिचान तथा घटस्थापनामा गोरखाबाट हनुमानढोकामा फूलपाती ल्याइने मार्गबारे अनुसन्धानमूलक यथोचित सूचना सम्प्रेषण गर्ने एक रमणीयस्थलका रुपमा उद्यानको निर्माण गरिने बताइएको छ ।
Categorized in राष्ट्रिय