नायक ‘एक्सन हिरो’, नायिका ‘ब्ल्याकबेल्ट’ होल्डर : धिरेन र रुक्सानाको “मिखा भाय्...” म्यूजिक भिडियो निर्वाण मिडियाबाट रिलिज
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ चैत्र २६, बिहिबार
–ललेन्द्र शाक्य
केबिएस प्रोडक्सन लुभूको निर्माणमा नयाँ नेपालभाषाको म्यूजिक भिडियो ‘मिखा भाय् छक्वः यायेवं’ सार्वजनिक भएको छ । केबिएस प्रोडक्सनको सार्वजनिक भएको उक्त ‘मिखा भाय् छक्वः यायेवं’ म्यूजिक भिडियो ८२ औं नम्बरमा परेको छ ।
‘मिखा भाय् छक्वः यायेवं’ म्यूजिक भिडियोमा खस नेपाली चलचित्रका चर्चित ‘एक्सन हिरो’ धिरेन शाक्य र कीर्तिपुरकी सितेरियो कराँतेमा ‘ब्ल्याकबेल्ट वन डन’ होल्डर रुक्साना महर्जनको जोडी रहेको छ भने अन्य कलाकारमा संगीता महर्जन र राजाराम खड्काको भूमिका रहेको छ ।
पांगास्थित कीर्तिपुर सिनेप्लेक्स हलमा चैत्र २५ गते बुधबार उक्त म्यूजिक भिडियो सार्वजनिक भएको हो । नेपाल कला संस्कृतिक उत्थान समाजका संस्थापक अध्यक्ष विजयलाल डंगोलको सभापतित्वमा भएको उक्त ‘मिखा भाय् छक्वः यायेवं’ म्यूजिक भिडियो सार्वजनिकीकरण कार्यक्रममा बरिष्ठ गायक जुजुकाजी रंजितको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा अतिथिको रुपमा बरिष्ठ सिनेपत्रकार विजयरत्न तुलाधर असंबरे, आयोजकको तर्फबाट केबिएस प्रोडक्सन लुभूका अध्यक्ष केबिएस लुभू, आयोजककै तर्फबाट लुभू वेभ स्टुडियोका अध्यक्ष शैलेश श्रेष्ठ, म्यूजिक भिडियो निर्देशक बालमुकुन्द प्रजापति उपस्थित भएका थिए ।
‘मिखा भाय् छक्वः यायेवं’ म्यूजिक भिडियोका परिकल्पनाकार एवं निर्माण व्यवस्थापक केबिएस लुभूले स्वागत मन्तव्य दिनुभएको उक्त कार्यक्रममा सिनेपत्रकार विजयरत्न असंबरेले म्यूजिक भिडियोको समीक्षात्मक मन्तव्य राख्नुभएको थियो प्रमुख अतिथि बरिष्ठ गायक जुजुकाजी रंजितले सार्वजनिक भएको ‘मिखा भाय् छक्वः यायेवं’ म्यूजिक भिडियोको तारिफ गर्दै आफ्नो मन्तव्य राख्नुभएको थियो । उक्त ‘मिखा भाय् छक्वः यायेवं’ म्यूजिक भिडियो सार्वजनिकीकरण कार्यक्रममा म्यूजिक भिडियोका नायक धिरेन शाक्यले उक्त म्यूजिक भिडियो छायाँकनको समयको रमाइलो क्षणका अनुभवहरु सुनाउनु भएको थियो भने कार्यक्रमको समापन कार्यक्रमका सभापति एवं नेपाल कला संस्कृति उत्थान समाजका अध्यक्ष विजयलाल डंगोलले गर्नुभएको थियो ।
कार्यक्रममा ‘मिखा भाय् छक्वः यायेवं’ म्यूजिक भिडियोका कलाकार एवं प्राविधिकहरुलाई मायाको चिनो पनि प्रदान गरेको थियो ।
यस्तै, सार्वजनिक भएको ‘मिखा भाय् छक्वः यायेवं’ म्यूजिक भिडियो निर्वाण मिडिया यूट्युब च्यानलमा अपलोड भएको छ ।
‘मिखा भाय् छक्वः यायेवं’ गीत प्रकाशदीप श्रेष्ठले रच्नु भएको छ भने संगीतकार गोविन्द ह्यूमत हुनुहुन्छ । यस्तै, संगीत संयोजक जिवित जल्मीले गर्नुभएको छ भने अञ्जु पन्तले गाउनुभएको छ ।
‘मिखा भाय् छक्वः यायेवं’ म्यूजिक भिडियोको छायाँकन र सम्पादन शैलेश श्रेष्ठले गर्नुभएको छ भने सुविन श्रेष्ठले सहायक छायाँकारको भूमिका खेल्नुभएको छ । यस्तै मेकअप आर्टिष्टमा उमिशा पाण्डे हुनुहुन्छ भने सरिता श्रेष्ठले विशेष सहयोगीको भूमिका खेल्नुभएको छ ।
केबिएस प्रोडक्सन लुभूले थुप्रै कलाकारहरु म्यूजिक भिडियोमार्फत् उत्पादन गरिसकेको छ भने म्यूजिक भिडियो निर्माणको क्रममा चर्चित कलाकारहरु करिष्मा मानन्धर केसी, मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, दीपा श्री निरौला, निरुता सिंह, मिस पवि, देविका बन्दना प्रधानका म्यूजिक भिडियो रहेको छ ।
धिरेन शाक्य र रुक्साना महर्जनको ‘मिखा भाय् छक्वः यायेवं’ म्यूजिक भिडियो केबिएस प्रोडक्सन लुभूको ८२ औं म्यूजिक भिडियो हो । केबिएस प्रोडक्सन लुभूका अध्यक्ष केबिएस अर्थात् कृष्णभक्त श्रेष्ठको लक्ष्य १०० वटा म्यूजिक भिडियो निर्माण गर्ने लक्ष्य रहेको छ । उहाँ केबिएस लुभूले आफ्नो प्रोडक्सनबाट निर्माण भएका म्यूजिक भिडियोहरु छनोट गरी एक भव्य अवार्ड वितरण कार्यक्रम गर्ने योजना रहेको जानकारी दिनुभएको छ ।
‘मिखा भाय् छक्वः यायेवं’ म्यूजिक भिडियोकी नायिका रुक्साना महर्जन कीर्तिपुर १० वडा निवासी हुन् । उहाँ कलाकारका साथै सितेरियो कराँतेका ‘ब्ल्याकबेल्ट वन डन’ होल्डर खेलाडी हुन् भने एक कुशल व्यावसायिक ‘चित्रकार’ पनि हुन् ।
रुक्साना महर्जनले कलाकारिता क्षेत्रबाट विभिन्न अवार्डहरु पनि जितिसक्नु भएकी छिन् भने उहाँले दर्जनौं म्यूजिक भिडियोमा अभिनय गरिसेकेकी छिन् ।
यहाँ क्लीक गर्नुहोस्, ‘मिखा भाय्...’ म्यूजिक भिडियो हेर्नुहोस्
Categorized in साहित्य-कला



