STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

निःशुल्क कपडा वितरण

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १२, आइतबार

यहाँका केही युवाहरुको सक्रियतामा पुनः प्रयोग गर्न मिल्ने लुुगा कपडा सङ्कलन गरी विपन्न तथा असहाय व्यक्तिलाई निःशुल्क वितरण गर्न थालिएको छ । सामाजिक संस्था रोयल कोलाब्रेटिज प्रालि धनगढीमा आबद्ध युवाहरुको पहलमा निःशुल्क लुगा कपडा सङ्कलन र वितरण थालिएको हो । ‘‘मान्छेका घरमा रहेका प्रयोग भएका र नभएका लत्ताकपडा सङ्कलन गरेर गरीब असहायलाई वितरण गर्न यो योजना बनाएका हौँ, प्रालिमा आबद्ध युवा देवेन्द्र जोशीले भन्नुभयो, “सेवा गर्नु नै धर्म भएकाले यस्तो अभियान थालेका हौँ ।” पहिलो दिन शनिबार धनगढीको डिभोटीचोकमा रहेको ‘स्टल‘बाट युवाहरुले आफँै सङ्कलन गरेका प्रयोग गर्न मिल्ने कपडा एक वृद्धा महिलालाई निःशुल्क वितरण गरिएको छ । जोशीले ‘स्टल’बाट लत्ताकपडा, शैक्षिक सामग्री, जुत्ता–चप्पलसमेत निःशुल्क वितरण गरिने बताउनुभयो । यस्तो कार्यमा जोशीका अलावा गजेन्द्र शाही, सूर्यप्रकाश भट्ट, विनय चोखाललगायतका युवा सक्रिय भएका हुन् । धनगढीको एलएन चोक, निसर्ग अस्पताल र सेती अञ्चल अस्पताल चोकमा राखिने स्टलमार्फत निःशुल्करूपमा लत्ताकपडाको सङ्कलन र वितरण गर्ने योजना युवाहरुले बनाएका हुन् । सुदूरपश्चिम प्रदेशका अन्य ठाउँमा पनि यस्तो अभियान शुरु गरिने जनाइएको छ । संस्थाले विभिन्न सामाजिक कार्यका अलावा खेलकूद गतिविधि र व्यक्तित्व विकाससम्बन्धी गतिविधि गर्दै आएको छ ।
Categorized in राष्ट्रिय