STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

निर्वाचनमा तालमेल गरेर जाने सत्ता गठबन्धनबीच सहमति

Janjati Khabar – Janjati Khabar | २०७९ श्रावण २०, शुक्रबार

काठमाडौं - पाँच दलीय सत्ता गठबन्धनले आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटरमा शुक्रबार बसेको बैठकले आगामी निर्वाचनमा पनि पाँच दलीय गठबन्धनलाइ कायमै राख्दै चुनावी तालमेल गरी अगाडि बढ्ने निर्णय गरेको हाे ।सरकारले हिजाे मात्रै आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन एकै चरणमा गर्ने औपचारिक निर्णय गरेको हो।

कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेका हुन्।

उनीहरूले चुनावी सिट बाँडफाँटको गृहकार्य गर्न ९ सदस्यीय कार्यदलसमेत बनाएका छन्। कार्यदलमा नेपाली कांग्रेसबाट नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादी केन्द्रबाट देव गुरुङ र वर्षमान पुन छन्।

यस्तै, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन्।

कार्यदललाई दललाइ सिट बाँडफाँडकाे जिम्मेवारी दिइएकाे छ । कुन दलले कति सिट लिने भनेर साउन अन्तिम सातासम्म सिफारिस गर्न भनिएको छ।  दलहरुले चुनावी तालमेल गर्ने भने पनि सिट बाँडफाँडमा मुख्य समस्या हुने देखिएको छ।वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि पाँच दलीय गठबन्धन कायम थियो।

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले पनि चुनाव अघिसम्म कुनै नयाँ गठबन्धन बनाउने तयारीमा छ ।

Categorized in राजनीति