निषेधाज्ञा जारी नहुने !
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २४, बुधबार
काठमाडौं – कोरोना भाइरस रोकथामको लागि सरकारले अब निषेधाज्ञा जारी नगर्ने भएको छ ।
रोकथामका अन्य उपाय प्रयोगमा ल्याई अघि बढ्नेअनुरुप निषेधाज्ञा जारी नगर्ने निर्णय गरेको हो । निषेधाज्ञासम्बन्धमा भने बुधबारमात्रै ठोस निर्णय हुने भएको छ ।
नजिकिँदै गरेको दशैं र तिहारको समय निषेधाज्ञाले झनै समस्या बढाउने भएकाले रोकथामको लागि भौतिक दुरी कायम गराउने र पसल, व्यवसायहरु निश्चित समयको लागि मात्र खोल्न दिने योजनामा सरकार रहेको छ ।
उपत्यकाका तीनवटै जिल्लाका जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठक पनि गृहमन्त्रालयसमय यस विषयमा छलफल भएको थियो । काठमाडौं जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका नारायणप्रसाद भट्ट र भक्तपुरका हुमकला पाण्डेको संयुक्त बैठकले गृहमन्त्रायलयलाई निषेधाज्ञासम्बन्धमा सुझाव दिएको थियो ।
भदौको पहिलो सातादेखि जारी निषेधाज्ञा आज बुधबार मध्यराति सकिँदैछ । त्यसलाई थप्ने वा खुकुलो बनाउने वा हटाउने विषयमा विज्ञहरुसँग छलफल तथा बैठकहरु चल्दैछ । भाइरस रोकथामको लागि निषेधाज्ञा जारी भएसँगै यसले भोकमरी निम्त्याउने खटरा पनि बढ्दै गएको छ । रोगबाट भन्दा भोकबाट मरिने भयो भन्दै जनसमुदाय तथा व्यवसायीहरुले निषेधाज्ञा खोल्नुपर्ने दबाब दिन थालेका छन् ।
स्वास्थ्यमन्त्रालयको निषेधाज्ञा थपिनुपर्ने सुझाव
उता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने उपत्यकामा जारी निषेधाज्ञा एक हप्ताको लागि थपिनुपर्ने सुझाव सरकारलाई दिएको छ ।
मन्त्रालयका अनुसार एक हप्ता निषेधाज्ञा लम्ब्याए महामारी नियन्त्रणमा लिन सजिलो हुने भएकाले निषेधात्रा थप्न सुझाव दिएको हो ।
मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले उपत्यकामा अहिले पनि जोखिम नघटेको भन्दै जारी निषेधाज्ञालाई कम्तिमा एक साता निरन्तरता दिनुपर्ने बताए ।
दुई सय बढी एक्टिभ केस भएका ठाउँमा लकडाउन र पाँच सय बढी एक्टिभ केस भएका ठाउँमा कर्फ्यु नै लगाउने भन्ने स्वास्थ्यको मापदण्डअनुसार हुनुपर्ने उनले बताएका छन् ।
उपत्यकामा अहिले यी दुवै मापदण्ड नाघेको अवस्था रहेकोले तत्काल निषेधाज्ञा खोल्न नहुने तर्क मन्त्रालयको रहेको छ ।
Categorized in उपत्यका