STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपालमा भेटियाे कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन

Janjati Khabar | २०७८ मङ्सिर २०, सोमबार

नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फेला परेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पनि यो नयाँ भेरियन्ट फेला परेको पुष्टि गरेको हो । 

मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले दुई जनामा ओमिक्राेन भेरियन्ट पुष्टि भएकाे बताए । 

उनका अनुसार संक्रमित मध्ये एक जना ६६ वर्षका छन् । उनकाे सम्पर्कमा रहेका अर्का एक जनालाई पनि संक्रमण पुष्टि भएकाे हाे । उनीहरू दुवै जना विदेशी नागरिक हुन् । 

उनीहरूकाे सम्पर्कमा रहेका अन्य ६६ जनाकाे रिपाेर्ट भने नेगेटिभ आएकाे अधिकारीले जानकारी दिए ।

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएका दुई अफ्रिकी नागरिक १७ दिनअघि नै नेपाल प्रवेश गरेका पाइएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएकाे यात्रा विवरणअनुसार ती दुवै जना ३ मंसिरमा नेपाल आइपुगेका थिए । 

ओमिक्रोन फेला परेको जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले भने, ‘३ मंसिर २०७८ मा नयाँ भेरियन्ट पुष्टि भएको देश हुँदै एक ६६ वर्षीय विदेशी नागरिक नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय हवाई नाका प्रयोग गरी नेपाल प्रवेश गरेका थिए । नेपाल आउँदा पीसीआर रिपोर्ट नेगेटिभ तथा खोपको मात्रा पूरा गरेको पाइएको थियो । ६६ वर्षीय नागरिकको सम्पर्कमा रहेका ७१ वर्षीय व्यक्तिमा कोभिडसँग मिल्ने लक्षण देखिएपछि परीक्षण गर्दा पोजिटिभ आएको थियो ।’ 

उनीहरूको पीसीआर पोजिटिभ आएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जिन सिक्वेन्सिङ गर्दा १९ मंसिरमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो । ती दुई नागरिकको नाम र देश भने मन्त्रालयले सार्वजनिक गरेको छैन । ‘देशदेशका बीचमा विभेद हुन सक्छ । नाम र देश सार्वजनिक गरिएको छैन’, सहप्रवक्ता अधिकारीले भने । 

उनीहरूको सम्पर्कमा रहेका अन्य ६६ जनाको रिपोर्ट भने नेगेटिभ आएको अधिकारीले जानकारी दिए । 

हालसम्म ३५ देशमा काेराेना भाइरसकाे ओमिक्राेन भेरियन्ट पुष्टि भइसकेकाे छ । आइतबार मात्रै भारतमा १७ जनामा याे संक्रमण पुष्टि भएकाे थियाे । नेपाल याे सूचीमा ३६औँ नम्बरमा परेकाे छ । 

 

Categorized in स्वास्थ्य-मौसम