नेपाललाई विश्वमा चिनाउन खेल क्षेत्रको महत्वपूर्ण भूमिका
Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २२, आइतबार
कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले नेपाललाई विश्वमा चिनाउन खेल क्षेत्रको ठूलो भूमिका रहेको बताउनुभएको छ ।
नमूना युवा क्लब भैरवस्थान सुर्खेतद्वारा आज यहाँ आयोजित कर्णाली प्रदेशको सबैभन्दा ठूलो राशिको ब्याडमिन्टन खेल प्रतियोगिताको उद्घाटन गर्दै सामाजिक विकासमन्त्री रावलले खेल क्षेत्रको महत्वपूर्ण योगदानले नेपाल र नेपालीको स्वाभिमान उचालिएको बताउनुभयो । “स्वस्थ नागरिक उत्पादन गर्न र राष्ट्रको पहिचान देखाउन खेल र खेलाडीको ठूलो भूमिका छ”, मन्त्री रावलले भन्नुभयो, “यस क्षेत्रको विकासलाई कर्णाली प्रदेश सरकारले प्राथमिकतामा राखेको छ ।”
वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेतका अध्यक्ष निलकण्ठ खनालले सभ्य, विकसित र स्वस्थ समाज निर्माणमा खेल क्षेत्रले सहयोग गर्ने बताउनुभयो । “समाजमा कुलतमा फसेका युवालाई खेलका माध्यमबाट असल नागरिक बनाउँछौँ”, अध्यक्ष खनालले भन्नुभयो, “यसका लागि आगामी दिनमा स्थानीय सरकारले पनि यी यस्तै अतिरिक्त क्षेत्रमा बजेट विनियोजन गर्छ ।”
नमूना युवा क्लब सञ्चालक समितिका सदस्य गङ्गाराम तिमिल्सिनाले राष्ट्रको गौरव बढाउन, व्यक्तिको शारीरिक र मानसिक रूपमा स्वस्थ बनाएर समुन्न समाज निर्माण गर्ने उद्देश्यले ब्याटमिन्टन खेलको आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार खेलमा ३७ टोलीको सहभागिता रहेको छ । पहिलोपटक सञ्चालन गरिएको यस खेलको राशि रु दुई लाखको रहेको आयोजकले जनाएको छ ।
Categorized in राष्ट्रिय