STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपालले पनि कान्स फिल्म फेस्टिभलमा भाग लिने घाेषणा

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ फाल्गुण २६, मंगलबार

काठमाडौँ- विश्वकै प्रतिष्ठित फिल्म महोत्सवमध्ये एक  कान्स फिल्म फेस्टिभलकाे ७९औँ संस्करणमा  नेपालले औपचारिक सहभागिता जनाउने भएको छ। नेपाली चलचित्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन, सहकार्य विस्तार तथा विश्व बजारमा पहुँच विस्तार गर्ने उद्देश्यसहित चलचित्र विकास बोर्डले आगामी मे १२ देखि २३, २०२६ सम्म फ्रान्सको कान्स शहरमा आयोजना हुने उक्त महोत्सवमा नेपालको प्रतिनिधित्व गर्ने तयारी गरेको हो।

यसपटक महोत्सवमा चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डको सहकार्यमा नेपालको विशेष ‘नेपाल पवेलियन’ (स्टल/बुथ) पनि रहनेछ। सो स्टलमार्फत नेपाली चलचित्र, फिल्म परियोजना, पोस्टर, ट्रेलर तथा अन्य प्रचार सामग्री अन्तर्राष्ट्रिय फिल्म बजारका वितरक, निर्माता, फिल्म फन्ड, फेस्टिभल प्रतिनिधि तथा दर्शकसमक्ष प्रस्तुत गरिनेछ।

बोर्डका अनुसार कान्स फिल्म फेस्टिभलमा व्यक्तिगत रूपमा सहभागी हुने नेपाली चलचित्रकर्मीहरूले पनि बोर्डको स्टल साझा गरी आफ्नो फिल्म तथा परियोजनाहरू अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्न सक्नेछन्, जसले नेपाली चलचित्रलाई विश्व फिल्म बजारसँग जोड्ने महत्वपूर्ण अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

चलचित्र विकास बोर्डले यस पहललाई नेपाली फिल्म उद्योगलाई विश्व फिल्म मञ्चमा स्थापित गर्ने ऐतिहासिक अवसरका रूपमा लिएको जनाएको छ।

कान्स महोत्सवमा सहभागी हुन इच्छुक नेपाली चलचित्रकर्मीहरूलाई बोर्डसँग समन्वय गरी आफ्नो सामग्री प्रदर्शन गर्न अनुरोध गरिएको छ।

Categorized in सिनेमा