नेपाली नाेट, नेपाली हात्ती
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ७, बुधबार
काठमाडौं - अब नेपाली नोटमा नेपालकै हात्तीको चित्र पैसामा राखिने भएको छ । नेपाली हजारकाे नाेटमा रहेको हात्तीको चित्र परिवर्तन हुने भएको छ । अब नयाँ हात्तीको चित्र राखिने भएको हो । हाल रहेकाे हात्ती कतिपयले अफ्रिकी मुलुकमा पाइने हात्ती भएको अनुमान गरेका छन् ।
२०२६ सालदेखि प्रचलनमा आएको हजारको नोटमा अब भने नेपालकै हात्ती राखिने भएको छ। राष्ट्र बैंकले साविकको एउटा हात्तीको सट्टा राम र लक्ष्मण भनी चिनिने दुर्लभ जुम्ल्याहा हात्तीको चित्र रहेको नयाँ हजारको नोट जारी गर्ने जनाएको छ। बुधबारबाट चलनचल्तीमा आउने नयाँ नोटको आकार र रंग भने पुरानै जस्तो हुनेछ।
२०६५ कात्तिक २४ गते चितवन राष्ट्रिय निकुञ्जस्थित सौराहामा रहेको हात्ती प्रजनन तथा तालिम केन्द्रमा देवीकली नामको हात्तीले एकैपटक दुइटा छावा जन्माएकी थिइन्। विज्ञहरूका अनुसार यसरी हात्तीले जुम्ल्याहा बच्चा पाउने घटना विश्वमै दुर्लभ हुन्छ।
चितवन राष्ट्रिय निकुञ्जका पशु चिकित्सक डा. भीषण गजमेरका अनुसार जनावरको शारीरिक बनोट जति ठूलो भयो, त्यति जुम्ल्याहा बच्चा जन्मिने सम्भावना कम हुन्छ। यसरी जुम्ल्याहा छावा जन्मेको थोरै मात्र घटना छन्। नेपालमा पनि जुम्ल्याहा छावा जन्मेको यो पहिलो हो।
राष्ट्र बैंकले हजारको नोटमा जुम्ल्याहा हात्तीको चित्र राख्ने निर्णय गरेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले राम लक्ष्मणको फोटो पठाएको थियो। अब आउने नयाँ एक हजारको नोटमा अब यि राम लक्ष्मण जोडीको तस्बिर राखिने भएको हो ।
Categorized in बिजनेस