STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपाल बारले भन्यो– प्रधानन्यायाधीश जबरासँग वार्ता गर्दैनौँ

Janjati Khabar – Janjati Khabar | २०७८ कार्तिक ३०, मंगलबार

काठमाडौं, ३० कार्तिक २०७८ - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गरेका वार्ता आह्वानलाई नेपाल बार एसोसिएसनले अस्वीकार गरेको छ । दुई सातादेखि जबराको राजीनामा मागेर बार र सर्वाेच्च अदालतकै १९ जना न्यायाधीश आन्दोलनमा छन् ।

उनीहरूलाई वार्ता र संवादबाट समाधान खोज्न सोमबार प्रधान्यायाधीश जबराले विज्ञप्ति जारी गरेर आह्वान गरेका छन् । तर प्रधानन्यायाधीशको आह्वानलाई अस्वीकार गर्दै बारले जबरासँग वार्ता नगर्ने बताएको हो।

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जबराले राजीनामा दिएर नियुक्त हुने नयाँ प्रधानन्यायाधीशसँग वार्ता गर्ने बताएका छन् । ‘न्यायको गरिमा जोगाउन नसक्ने प्रधान्यायाधीशले राजीनामा दिनुपर्छ । बिचौलिया, विकृति विसंगतिको प्रवक्ता, पक्षपोशकको रूपमा उएिका जबरासँग वार्ता हुँदैन’, श्रेष्ठले भने, ‘जबराले राजीनामा दिएपछि नयाँ नेतृत्वसँग वार्ता गर्छौं । नयाँ नेतृत्वसँग वार्ता हुन्छ ।’

यस्तै सर्वाेच्च अदालत बारका अध्यक्ष पूर्णमान शाक्यले जबरासँग वार्ता नहुने बताए। ‘वक्तव्यबाट वार्ता आह्वान गरेको वक्तव्यको जवाफ वक्तव्यबाट दिन्छौँ’, उहाँले भने, ‘जबराको नेतृत्व नमान्ने भनेपछि उहाँसँग वार्ता हुँदैन । न्यायको शुद्वीकरणका लागि नयाँ आउने नेतृत्वसँग वार्ता हुन्छ । यो नेतृत्वसँग हुँदैन ।’

दुई सातादेखि सर्वाेच्च अदालत र आइतबारदेखि देशभरका न्यायालयमा बारले धर्ना दिइरहेको छ । सर्वाेच्च बार अध्यक्ष शाक्यले धर्नाको कार्यक्रम अझ सशक्त बनाउने बताए।

Categorized in राजनीति