STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपाल भाषाका साहित्यकार सम्मानित

Janjati Khabar | २०८१ फाल्गुण ११, आइतबार

काठमाडौँ, काठमाडौँ महानगरपालिका–२२ ले साहित्य लेखनका माध्यमबाट नेपाल भाषाको संरक्षण र प्रवर्द्धनमा योगदान गर्नुभएका पाँच साहित्यकारलाई सम्मान गरेको छ । अन्तरराष्ट्रिय मातृभाषा रजत जयन्तीका रूपमा विविध कार्यक्रम आयोजना गरेर मनाउने क्रममा शनिबार वडाले ‘कविता वाचन तथा स्रष्टा सम्मान’ कार्यक्रम आयोजना गरेको हो । सम्मानित हुनुहुनेमा कथाकार पुष्प चित्रकार, कथाकार सुवर्णकेशरी चित्रकार, कथाकार तथा गीतकार निरञ्जनरत्न शाक्य, कवि नवीन चित्रकार र कवि श्रीराम श्रेष्ठ हुनुहुन्छ ।

कार्यक्रममा भाषा आयोगका अध्यक्ष डा गोपाल ठाकुरले भाषामा विविधता हुनु नै नेपालको सुन्दरता भएको बताउनुभयो । उहाँले पहिले बोलेका भरमा वा लेखेका भरमा दण्डित हुनुपर्ने अवस्था थियो, अहिले त्यो अवस्था छैन भन्नुभयो ।  वडा नं २२ का अध्यक्ष एवं महानगरपालिकाको शिक्षा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनले बहुभाषिक नेपालीले नेपालको सुन्दरता उज्यालो बनाएको उल्लेख गर्नुभयो ।

कामपाको जिम्मेवारीको प्रसङ्ग उठाउँदै वडाध्यक्ष महर्जनले भन्नुभयो, “स्थानीय सरकारको दायित्वभित्र पूर्वाधार निर्माणसँगै सामाजिक, सांस्कृतिक तथा भाषिक अवस्थितिलाई जोगाउनु पनि हो । यसको विकास र विस्तार गर्नु पनि हो । यसकै लागि हामीले प्रयास गरेका हौँ ।” 

यस क्रममा भाषिक आयोगका सदस्य सुरेशकिरण मानन्धरले युनेस्कोले दिवस घोषणा गर्नुअघि नेपाल भाषालाई मातृभाषाका रूपमा संरक्षण गर्नका लागि कविता वाचन कार्यक्रम आयोजना गरिएको स्मरण गर्नुभयो । 

कथाकार पुष्प चित्रकार २०२२ सालमा रेडियो नेपालबाट नेपाल भाषाको समाचारमा रोक लगाएपछि साहित्य सम्मेलन गरेर विरोधको आयोजना गर्नुभएको थियो । उहाँले निवन्ध, कविता र समलोचनामा पनि कलम चलाउनुभएको छ । कथाकार सुवर्णकेशरीले लेख्नुभएका ‘इल फपुइकी’ जापानी, अङ्ग्रेजी र नेपाली भाषामा अनुवाद भएको छ ।

 निरञ्जनरत्न शाक्य न्हूदँ समारोह समिति ११४२ का अध्यक्ष हुनुहुन्थ्यो । उहाँका नेपाल संवत् १०९८ मा प्रकाशित निकचा, ११०१ मा प्रकाशित ब्वलासालगायत कृति महत्त्वपूर्ण मानिन्छन् । कवि नवीन चित्रकार भाषिक अधिकारका लागि स्थापित मुनासःयाका संस्थापक हुनुहुन्छ । उहाँले नेपाल भाषाको नाटक निर्देशन पनि गर्नुभएको छ । यस्तै पद्मरत्न तुलाधरले लेख्नुभएको शिक्षक र विद्यार्थी नाटकमा शिक्षकको भूमिका निर्वाह गर्नुभएको छ । 

‘जुलुसहीन जुलुसय् जि हालाच्वना’ कविता सङ्ग्रहका लेखक श्रीराम श्रेष्ठ नयाँ धारको प्रगतिशील कविका रूपमा परिचित हुनुहुन्छ । साहित्यमा कलम चलाउने श्रेष्ठको मूल विधा कविता हो । रासस

 

 

Categorized in साहित्य-कला