STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपाल र भारतबीच आज महत्वपूर्ण घोषणा हुँदै

Janjati Khabar – Janjati Khabar | २०७८ चैत्र १९, शनिबार

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि आज दुवै देशबीच ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायात क्षेत्रमा महत्वपूर्ण घोषणा हुनेभएको छ ।

शुक्रबार नयाँदिल्लीस्थित नेपाली राजदूतावासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त जानकारी दिएका हुन् ।

नेपाल र भारतबीचको पारस्परिक ऐतिहासिक सम्बन्धलाई मजबुत बनाउन तथा दुई पक्षीय आर्थिक सहयोगका विषयमा छलफल गर्न आफू भारत भ्रमणमा आएको भन्दै प्रधानमन्त्री देउवाले आफ्नो यो भ्रमणबाट नेपाल भारत सम्बन्धले थप उचाइ हासिल गर्ने विश्वास पनि व्यक्त गरे ।

प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीबाट संयुक्त रुपमा ‘फ्लाग अफ’ गरी धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म चल्ने रेल सेवा उद्घाटन गर्ने कार्यक्रम छ ।

नेपालमा रेल सेवा सञ्चालनका लागि गत २०७७ असोज २ गते भारतबाट ८४ करोड ६५ लाखमा दुई सेट रेल खरिद गरिएको थियो । खरिद गरिएको डेढवर्षपछि रेल सेवा सञ्चालन हुन लागेको हो । यो रेल सेवा सुरु भएसँगै नेपालको रेल यातायाततर्फको अर्को यात्रा सुरु हुनेछ ।

शनिबार रेलगाडीमा दुबै देशका प्रतिनिधि सवार भएर भारतको जयनगरबाट नेपालको कुर्थातर्फ रेल जानेछ । शनिबार उद्घाटन भएपछि आइतबारदेखि नै तालिकाअनुसार नियमित रेल चल्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए। उनका अनुसार दिनको दुई पटक आउने र दुई पटक जाने गरी समयतालिका निर्धारण गरिएको छ ।

Categorized in राजनीति