नेपाल विधि विज्ञान प्रयोगशालाका लागि भवन छैन
Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण ६, सोमबार
अपराधका घटनामा वैज्ञानिक परीक्षणका लागि स्थापना भएको नेपाल विधि विज्ञान प्रयोगशालाका लागि छुट्टै भवन छैन । यसअघि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नास्ट अन्तर्गत रहेको प्रयोगशाला अहिले स्वायत्त संस्थाको रुपमा छ ।
सरकारले प्रयोगशालाका लागि आवश्यक दरबन्दीको व्यवस्था गरिसकेको प्रयोगशालाका निमित्त कार्यकारी निर्देशक वीरेन्द्रराज शाक्यले बताउनुभयो । तर जनशक्तिलाई काम गर्नका लागि पर्याप्त स्थानको अभाव रहेको छ । सरकारले प्रयोगशालामा गत आ।व।मा मात्रै नौ जना प्राविधिक जनशक्ति पठाएको थियो । नयाँ आएका कर्मचारीलाई समेत राम्ररी काम गर्ने वातावरण तयार गर्न नसकिएको दाबी गर्दै उहाँले भन्नुभयो, “भवन नभएपछि हामीले गर्ने काममा प्रत्यक्ष असर परिरहेको छ ।”
निमित्त कार्यकारी अधिकृत शाक्यले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग भवन आवश्यक भएको र त्यसका लागि जग्गाको माग गरेको बताउनुभयो । प्रयोगशाला अहिले रहेको भवनसमेत प्रतिष्ठानको नाममा छ । उहाँले भन्नुभयो, “जग्गा उपलब्ध भएपछि हामी भवन निर्माण गर्ने छौं ।”
प्रयोगशालाले वैज्ञानिक प्रविधिबाट औंठा छाप, रगतमा मदिराको मात्रा, मानिस र जनावरको डिएनए परीक्षणलगायतका कार्य गर्दै आएको छ ।
–––
Categorized in राष्ट्रिय