नेपाल संवत् नववर्षको अवसरमा सांस्कृतिक कार्यक्रम सम्पन्न (तस्बिर सहित)
Janjati Khabar – राकेश महर्जन | २०७७ पौष ४, शनिबार
काठमाडौं – नेपाल संवतको नववर्ष भव्य रुपमा मनाउने क्रममा सांस्कृतिक कार्यक्रमको आयोजना भयो ।
नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समितिको आयोजनामा काठमाडौंको जगतसुन्दर ब्वनेकुथिमा शनिबार भएको ‘सेमी–भर्चुअल’ कार्यक्रममा नेवार कलाकारहरुले आ–आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए ।
सांस्कृतिक कार्यक्रमलाई नेवाः युट्युब र नेपालमण्डल टेलिभिजनले आ–आफ्नो फेसबुक पृष्ठबाट प्रत्यक्ष प्रशारण गरेका थिए । न्हूदँ राष्ट्रिय समारोह समितिका अध्यक्ष रमेश महर्जन ढिलो गरी कार्यक्रममा पुगेका कारण तिसा ज्वलं–तिसा डायमण्डका अध्यक्ष निरञ्जनरत्न शाक्यले कार्यक्रमको उद्घाटन गरेका थिए ।
समारोह समिति अध्यक्ष रमेश महर्जनले मन्तव्य राखेको कार्यक्रममा समारोह समिति सचिवालय सदस्य सुजीव वज्राचार्यले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नेलाई निरञ्जनरत्न शाक्यले नै धन्यवाद दिएका थिए ।
सांस्कृतिक कार्यक्रमको संयोजन गरेका गायक पवित्र कसाःले नं रमाइलो गरी कार्यक्रम संचालन समेत गरेका थिए ।
नयाँ–नयाँ प्रतिभाहरुको प्रस्तुति रहेको कार्यक्रम सुरु गर्नुपूर्व नौलौ रुपमै नासःद्यःको गीत प्रस्तुत गरिएको थियो । प्रबोध कसाः, रबिन्सन कसाः र राहुल शाक्यले गितारको धुन र ताःको तालमा नासःद्यःको गीत प्रस्तुत गरेका थिए ।
यसपछि सुमन मानन्धर र रबिन्सन कसाः तथा दीपेन्द्र र बबिता बज्राचार्यले कार्यक्रममा युगल गीत प्रस्तुत गरेका थिए । अहिलेको लोकप्रिय इमर्ज ब्याण्डका उजं शाक्य र रोहन शाक्यले आफ्नो लोकप्रिय गीत ‘मैंचा’ र ‘थौंकन्हे’ सुनाएका थिए । कार्यक्रममा सिद्धार्थ वज्राचार्य, किशोर महर्जन, मंजिल शाक्य, अमोघवीर वज्राचार्य र ताराराम मुनकःमिले पनि आ–आफ्नो गीत प्रस्तुत गरेका थिए ।
यसैगरी सांस्कृतिक कार्यक्रममा नववर्षको भिंतुना गीतमा रितु दर्शनधारी, अनिल महर्जन, रावल महर्जन र गरिमा श्रेष्ठले सामूहिक नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा हसना महर्जन र रमन महर्जनको युगल नृत्यका साथै पारु रघुवंशी, आराध्यलक्ष्मी खड्गी, रितु दर्शनधारी र बालकलाकार इभा शाहीको एकल नृत्य प्रस्तुत भएको थियो । अनुज शाक्यले कार्यक्रममा मोर्डन डान्स पनि देखाएका थिए ।
नयाँ प्रतिभाका प्रस्तुतिमध्ये निभाः डंगोलले युकिलेले वाद्ययन्त्रमा गाएका नेवार कभर गीतको ‘म्याशअप’ले वान्स् मोर पाएको थियो । वान्समोरपछि डंगोलले इमर्ज ब्याण्डको ‘मैंचा’ गीतको कभर ‘दाइचा’ सुनाएकी थिइन् ।
कार्यक्रममा क्षेत्रपाटी पुचःका सुजल नापित, सिजेन चित्रकार, विवेक श्रेष्ठ, रिती महर्जन, कृति महर्जन, रोजिना महर्जन, प्रिन्सा महर्जन र अमिषा महर्जनको समूहले वाद्यधुन सुनाएका थिए ।






















Categorized in साहित्य-कला


