नेवाः सांस्कृतिक ज्ञानकोष प्रकाशन
Janjati Khabar – Janjati Khabar | २०८१ भाद्र २४, सोमबार
नेपालभाषा एकेडेमीका चान्सलर मल्ल के सुन्दरले नेवाः सांस्कृतिक ज्ञानकोष नेवाः समुदायको आत्मा भएको बताउनुभएको छ । उहाँले ज्ञानकोष विमोचनको क्रममा बोल्दै उक्त कुरा बताउनुभएको हो ।
काठमाडौं महानगरपालिकाको सहयोगमा नेपालभाषा एकेडेमीले प्रकाशन गरेको यस ज्ञानकोषको विमोचन कार्यक्रम वरिष्ठ साहित्यकार, मूर्तिकार, संगीतकर्मी एवम् संस्कृतिविद्को तर्फबाट संयुक्त रुपमा जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको हो ।
जनकवि दुर्गालाल श्रेष्ठ, क्रोधकला शिरोमणी कालु कुम्हाः, संस्कृतिविद् यज्ञमानपति बज्राचार्य, साहित्यकार सुवर्णकेशरी चित्रकार, संगीतकर्मी श्रीगोपाल प्रजापतिको हातबाट संयुक्तरुपमा पुस्तकको विमोचन गरिएको हो । नेवाः समुदायको बारेमा वृहद जानकारी यस ज्ञानकोष ‘नेवाः म्हसीका’, ‘संस्कृति व सम्पदा’, ‘भाषा, लिपि व साहित्य’, ‘म्ये, बाजं र प्याखं’ व ‘शिल्प, प्रविधि व ज्ञान’ गरी पाँचभागमा प्रकाशन भएको छ । जसमध्ये ‘नेवाः म्हसीका’को विमोचन विमोचन जनकवि दुर्गालाल श्रेष्ठ, ‘भाषा, संस्कृति व सम्पदा’को विमोचन संस्कृतिविद वज्राचार्य, ‘भाषा, लिपि व साहित्य’को साहित्यकार चित्रकार, ‘म्ये बाजं व प्याखं’को वरिष्ठ संगीतकर्मी श्रीगोपाल प्रजापति र ‘शिल्प, प्रविधि व ज्ञान’ क्रोधकला शिरोमणि कुम्हाः ले गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै ज्ञानकोषका परिकल्पनाकार एवम् नेपालभाषा एकेडेमिका भाइस चान्सलर मल्ल के सुन्दरले पुस्तकको बारेमा बोल्दै पुस्तक केवल नेपालभाषामा लेखिएको शब्दहरुको बाढी मात्र नभइ नेवाः समुदायलाई वृहत ढंगले परिचित गराउने पुस्तक भएको बताउनुभयो । पुस्तक नेवाः समुदायको उत्पत्तीदेखि संस्कृति, जात्रा पर्व लिपि, साहित्य लगायत समग्र क्षेत्रको बारेमा ज्ञान दिने पुस्तक भएकोले विमोचित पुस्तक केवल पुस्तक मात्र नभइ नेवाः समुदायको आत्मा भएको उहाँले बताउनुभयो ।
जनकवि दुर्गालाल श्रेष्ठ र काठमाडौं महानगरपालिका संस्कृति तथा पर्यटन विभागका संयोजक एवम् काठमाडौं महानगरपालिका ८ वडाका अध्यक्ष आशामान संगतले शुभकामना मन्तव्य दिनुभएको कार्यक्रममा सभापतिको स्थानबाट बोल्दै महानगरपालिकाका उपमेयर सुनिता डंगोलले यस्तो महत्वपूर्ण पुस्तक प्रकाशनमा महानगरपालिकाको तर्फबाट सहकार्य गर्न पाउँदा आफूलाई खुशी लागेको बताउनुभयो । उहाँले यस पुस्तकलाई नेपाली र अंग्रेजी भाषामा प्रकाशन गर्न महानगरले सहयोग गर्ने बचन दिनुभयो ।
पाँच भागमा प्रकाशित पाँचवटा पुस्तकमा २ हजार ८ सय पेज रहेको छ । ज्ञानकोशको ‘नेवाः म्हसीका’को संयोजन शाक्य सुरेन, ‘संस्कृति व सम्पदा’को संयोजन डा। चुन्दा वज्राचार्य, ‘भाषा, लिपि व साहित्य’को संयोजन प्रा। प्रेमशान्ति तुलाधर, ‘म्ये, बाजं व प्याखं’को संयोजन त्रिरत्न मानन्धर र ‘शिल्प, प्रविज्ञि व ज्ञान’को संयोजन विश्व शाक्यले गर्नुभएको हो । विमोचन कार्यक्रममापुस्तक प्रकाशनको निम्ति सहयोग गर्नुहुने सबैलाई एकेडेमीका सदस्य सचिव पुष्पराज राजकर्णिकारले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।


