नेवार जातिको अध्ययन तथा अनुसन्धानका लागि सरकारद्वारा प्रतिष्ठान गठन गरिने
Janjati Khabar – विजयरत्न असंबरे | २०७९ चैत्र १२, आइतबार
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहालले नेवार जातिको अध्ययन तथा अनुसन्धानका लागि प्रतिष्ठान गठन गर्ने बताउनुभएको छ ।
विश्व नेवार दिवसको अवसर पारेर शनिबार काठमाडौंको बसन्तपुरमा ‘सांस्कृतिक प्रवर्द्धनको लागि हलि नेवाः दिवस ‘ भन्ने नारा सहित आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेपालको सभ्यता, संस्कृति, इतिहास, भाषा, कला र साहित्यका निम्ति नेवारहरुले गरेको अनवरत सङ्घर्षको उच्च सम्मान गर्दै आफूले नेवार जातिको अध्ययन/अनुसन्धानका लागि प्रतिष्ठान गठन गर्ने र सो प्रतिष्ठान सिंगो नेपालकै लागि हुने पनि स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री दाहालले नेवार समुदाय विश्वमै नगर सभ्यता सुरु गर्ने अग्रज समुदायभित्र पर्ने उल्लेख गर्दै त्यो नेपाल र नेपालीका लागि गर्वको विषय भएको बताउनु भयो । नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिलाउने काम पनि आफू पहिलो पटक प्रधानमन्त्री भएको बेला गरेको स्मरण गराउनु भयो ।
वर्ल्ड नेवाः अर्गनाइजेशनको आह्वानमा हरेक मार्च महिनाको अन्तिम शनिवार विश्व नेवाः दिवस मनाउने निर्णय अनुसार शनिबार विभिन्न देशमा रहेका नेवार सङ्घसंस्थाले विभिन्न कार्यक्रम गरेर छैटाैँ विश्व नेवाः दिवस मनाउँदैछन् ।
न्यायसेवामा समर्पित गर्नु भएका पूर्वप्रधानन्यायाधिश कल्याण श्रेष्ठ , सशस्त्र प्रहरी बलका पूर्वआईजीपी सिंह बहादुर श्रेष्ठ ,नेपाली पहिलो चलचित्र"आमा ” चलचित्रमा शिर्षक भुमिका निर्वाह गरेकि अभिनेत्री चैत्यदेवी सिंह , वरिष्ठ समाजसेवी साहित्यकार सुवर्णकेशरी चित्रकार , वरिष्ठ संस्कृतिविद् / इतिहासविद् प्रा.डा. त्रिरत्न मानन्धर , वरिष्ठ हस्तकला कलाकार चिनकाजी ताम्राकार , उद्योगी / व्यवसायी रुपज्योति कसाः , वरिष्ठ पत्रकार नातिकाजी महर्जन , वरिष्ठ गणितज्ञ ज्योतिष देवनारायण महर्जन , अन्तर्राष्ट्रिय कुस्ति खेलाडी लेडी ड्रागन मुना श्रेष्ठ , वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्य , वरिष्ठ साहित्यकार मथुरा सायमि र वरिष्ठ कूटनीतिज्ञ पूर्वराजदूत केदारभक्त माथेमाका साथै कास्की नेवाः खलः ( कास्की नेवार समाज ) लाइ सम्मान गरिएको थियो ।
Categorized in उपत्यका

