नेवार समुदायको लागि सस्तो दरको तरकारी बजार सञ्चालनमा
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख १७, बुधबार
काठमाडौैं – लकडाउनको समय काठमाडौंबासी नेवार समुदायलाई सस्तो दरमा तरकारी उपलब्ध गराउन काठमाडौं १७ वडामा ‘नेवाः गुहालि पुचः’का युवाहरुले तरकारी पसल सञ्चालनमा ल्याएको छ ।
लकडाउनको समय तरकारीको भाउदर समान हुन नसकेको र भित्री सहरका बासिन्दा तथा नेवार समुदायले बाध्य भएर महँगोमा तरकारी किन्नु परिरहेकोले सस्तो दरको तरकारी पसल सञ्चालनमा ल्याइएको हो ।
१७ वडा श्रीघ विहारबाहिर क्षेत्रपाटी जाने बाटोमा सो तरकारी पसल खोलिएको छ । त्यहाँ कालिमाटी बजारमा दिने दरमा थोरैमात्र नाफा जोडेर तरकारी बिक्री भइरहेको छ । साथै १७ वडा बासिन्दाले फोन गरेकै भरमा घर–घरमा तरकारी पु¥याउने व्यवस्था पनि गरिएको छ ।
किलागल टोलस्थित स्टार क्लबका अध्यक्ष चन्द्र महर्जनले लकडाउनको समय कालिमाटी तरकारी बजारमा किलोको २० रुपैयाँ पर्ने काउली बजारमा १०० रुपैयाँमा बिक्री भइरहेको र स्थानीयले बाध्य भएर किन्नु परिरहेकोले स्थानीय युवाकै सक्रियतामा सस्तो दरको तरकारी पसल सञ्चालनमा ल्याएको बताएका छन् ।
केही दिनअघि इतुंबहालभित्र कोरोनाबाट बच्ने तथा तरकारी बजारमा स्थानीय युवाको सहभागिता विषयमा खुल्ला बैठक भएको थियो । यसै बैठकको निर्णयअनुरुप अब केही दिनमै न्हाय्कंटोल, नरदेवी, जनबहाल, असनमा पनि सस्तो दरको तरकारी पसल खोल्ने तयारी भइरहेको महर्जनले जनाएका छन् ।
Categorized in उपत्यका