STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेवार समुदायमा गाईजात्रा पर्व मनाइँदै

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २०, मंगलबार

काठमाडौँ – आज भाद्र कृष्ण प्रतिपदा, काठमाडौँसहित देशका विभिन्न ठाउँमा नेवार समुदायमा गाईजात्रा पर्व मनाइँदैछ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइन्छ । नेपालभाषामा गाईलाई सा भनिन्छ । गाईकाे जात्रा वा यात्रा भएकाले यसलाई नेपालभाषामा सायाः भनिने गरिन्छ । एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना इलाकामा परिक्रमा गराइने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । आजभन्दा ६०० वर्ष अघि लेखिएकाे नेस‌ं ५१० को गोपालराजवंशावलीमै गाईजात्राकाे विषय संकेत मिलिसकेकाे भए पनि मल्ल राजा प्रताप मल्लले पुत्रशोकले विह्वल आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन चलिआएकाे गाईजात्रालाई व्यवस्थित गराएका थिए । यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप जात्राको प्रचलन चलेको बताइन्छ । यसै बेलादेखि गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अहिले पनि कायमै छ । देशका विभिन्न शहरमा गाईजात्रा मनाइए पनि काठमाडौँ उपत्यकामा यसको विशेष रौनकता हुन्छ । भाद्र कृष्णाष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा ‘रामायण’का करुण रसका गीत पनि गाइन्छन् । व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै विसं २०१७ पुस १ गतेको ‘शाही कू’ पछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको संस्कृतिविद् सत्यमोहन जोशी सम्झिन्छन् । हास्यव्यङ्ग्यले बुझ पचाएर जथाभाबी गर्नेलाई सचेत गराउने र अनर्थकतामा सार्थकता झल्काउने संस्कृतिविद् जोशीको भनाइ छ । जात्राका क्रममा पाटनमा देखाइने सत्ययुगको धानचामलको नमुना तथा काठमाडौँको ठमेलमा स्वर्ण र रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छन् । आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजना गर्ने र पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशन गर्ने गरिन्छ । कोरोना (कोभिड–१९) सङ्क्रमण बढ्दै गएपछि यस वर्षको गाईजात्रा भने निकै होशियारीपूर्वक मनाउनुपर्ने भएको छ । भीडभाडका बीच जात्रा मनाउँदा कोरोना सङ्क्रमण समुदायमा पनि फैलिने खतरा छ । सरकारले ज्येष्ठ नागरिक र बालबालिकालाई भीडभाडमा नल्याउन अनुरोध गरिसकेकाले विगतझैँ यस वर्षको गाईजात्रा तामझामका साथ नहुने भएको छ । सरकारले बालबालिकालाई घर बाहिर निस्कन रोक लगाएपछि सांस्कृतिक रूपमा टोल छिमेकमै जात्रा मनाइने छ । गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली बजार, चरीकोट, दिक्तेल, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगन्ज, हेटौँडा र पोखरालगायत स्थानमा मनाइन्छ । गाईजात्राका अवसरमा सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने गरेको छ ।
Categorized in उपत्यका