STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेविसङ्घका अध्यक्षमा ढुङ्गाना

Janjati Khabar – जनजाति खबर | २०७६ माघ १६, बिहिबार

नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्षमा सुनसरीका राजिव ढुङ्गाना मनोनित हुनुभएको छ । काँग्रेस पार्टी सभापति शेरबहादुर देउवाले आज रिक्त रहेको ‘नेपाल विद्यार्थी सङ्घ केन्द्रीय तदर्थ कार्यसमिति’ गठन गर्नुभएको हो । पार्टीको २०७५ साल फागुन १ गतेको केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार पार्टी सभापति देउवाले ढुङ्गानालाई मनोनित गर्नुभएको हो । विसं २०४६ मा नेविसङ्घको जिल्ला सदस्यबाट नेविसङ्घको राजनीति शुरु गर्नुभएका ढुङ्गानाले यसअघि नेविसङ्घको केन्द्रीय सदस्य, कोषाध्यक्ष र उपाध्यक्षको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । तदर्थ समितिको महामन्त्रीमा काठमाडौँका मनोज वैद्य र पाल्पाका महेश्वरी कुँवर रहनुभएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । कार्यसमितिलाई आजको मितिदेखि छ महिनाभित्र नेविसङ्घको आगामी १२ औँ केन्द्रीय अधिवेशन सम्पन्न गर्नुपर्ने जिम्मेवारी तोकिएको छ । तदर्थ कार्यसमितिमा रहेका पदाधिकारी र सदस्य आगामी केन्द्रीय अधिवेशनमा उम्मेदवार हुन पाउने छैनन् भने यस अघि कायम रहेको नेविसङ्घ केन्द्रीय कार्य समिति विघटन भएको मिति २०७५ साल माघ २९ गतेसम्म ३२ वर्ष उमेर ननाघेका विद्यार्थीहरुले नेविसङ्घको आगामी १२ औँ अधिवेशनमा भाग लिन पाउने छन् । नेविसङ्घ तदर्थ कार्यसमितिका बाँकी पदाधिकारी र सदस्यहरुको मनोनयन यथाशीघ्र गरिने पार्टी कार्यालयले जनाएको छ ।
Categorized in राजनीति