STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पक्की घर हस्तान्तरण भएपछि मुसहर परिवारमा खुशी

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक २८, बिहिबार

कावासोती नगरपालिकाअन्तर्गत रहेका विपन्न माझी, मुसहर परिवारलाई घर हस्तान्तरण गरिएको छ । नेपाल सरकारको तराई–मधेश समृद्धि कार्यक्रम र कावासोती नगरपालिकाको नगरभित्र खरको छानोमुक्त घर बनाउने योजनाअनुसार यहाँका विपन्न माझी, मुसहर समुदायलाई घर निर्माण गरी हस्तान्तरण गरिएको हो । कावासोती नगरपालिकाअन्तर्गत यहाँका चार वडाका २७ घरपरिवारलाई घर निर्माण गरी हस्तान्तरण गरेसँगै घर पाउने विपन्न परिवार खुशी भएका छन् । कावासोती नगरपालिकाभित्र रहेका वडामध्ये वडा नं ७ मा १० घर, ११ मा चार घर, १२ मा तीन घर, १३ मा १० घर निर्माण गरिएको छ । “वर्षामा पानी चुहिएर घरभित्र बस्ने ठाउँ नै हुँदैन्थ्यो, खरले छाउँदाछाउँदा हैरान, अहिले टिनले छाएको पक्की घर बनेको छ, धेरै खुशी लागेको छ”, कावासोती–१३ का राजन मुसहरले भन्नुभयो, सरकारले घर निर्माण गरिदिएपछि धेरै सुविधा भएको छ । सामान्यरूपमा मजदूरी गरेर जीवनयापन गर्दै आउनुभएका राजन मुसहरलाई आफू टिनको घरमा बस्न पाउँछु भन्ने लागेको थिएन । कावासोती नगरपालिका र नेपाल सरकारको लागतमा घर निर्माण भएपछि उहाँलाई आफ्नो पक्की घरमा बस्ने सपना पूरा भएको सुनाउनुभयो । “सामान्य ज्याला मजदुरीको पैसाले घर खर्च चलाउँदै ठिक्क हुन्थ्यो, घर बनाउन कहाँ सकिन्थ्यो र”, राजनले भन्नुभयो, “सरकारले घर बनाइदिँदा आज पक्की घरमा बस्ने सपना पूरा भएको छ ।” उहाँजस्तै लक्ष्मी मुसहरलाई पनि पक्की घर बनेकामा खुशी लागेको छ । टिनले छाएको पक्की दुईकोठे घर निर्माण भएपछि धेरै सहजता भएको उहाँले बताउनुभयो । खरको छानोलाई विस्थापित गर्दै विपन्न समुदायका २७ घरपरिवारलाई टिनले छाएको पक्की दुईकोठे घर निर्माण गरी हस्तान्तरण गरिएको हो । कावासोती नगरपालिकाभित्र रहेका चार वडामा कूल रु ७२ लाखको लागतमा २७ घर निर्माण गरिएको हो । नेपाल सरकारको रु ५० लाख, कावासोती नगरपालिकाको रु पाँच लाख, उपभोक्तामार्फत रु १७ लाख गरी कूल रु ७२ लाखको लागतमा घर निर्माण गरिएको कावासोती नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रोशन ज्ञवालीले बताउनुभयो । कावासोती नगरपालिकाले विपन्नहरुका लागि आवास बनाउने योजनाअनुरुप अघिल्लो वर्ष वडा नं १५ मा घर निर्माण गरी हस्तान्तरण गरेको थियो । यस वर्ष पनि केन्द्रीय सरकारसँग समन्वय गरी वडा नं १५ र १७ मा रहेका विपन्न परिवारको घर निर्माण गर्ने योजना रहेको कावासोती नगरपालिका प्रमुख चन्द्रकुमारी पुनले बताउनुभयो । नगरपालिकाले नगरभित्र खरको छानोमुक्त नगर बनाउने उद्देश्यअनुसार नगरपालिकाले पनि योजनाहरु निर्माण गरिरहेको र केन्द्र, प्रदेश सरकारसँग समेत समन्वय गर्दै टिनले छाएका पक्की घर निर्माणकार्यलाई अगाडि बढाउँदै लगेको नगरप्रमुख पुनले बताउनुभयो । नगरपालिकाले गत आर्थिक वर्षबाटै नगरभित्र खरको छानो हटाउने नीति तथा कार्यक्रम तयार पारेर अगाडि बढेको छ ।
Categorized in राष्ट्रिय