STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पञ्च पाण्डवले शक्ति प्राप्त गरेको पचभैया कोट देउराली

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ३, मंगलबार

पोखरा महानगरपालिका–३१ स्थित पचभैया कोट देउराली महाभारतकालीन शक्तिपीठ हो । युधिष्ठिरसहित उनका पाँच भाइ गुप्तवासका क्रममा यही स्थानमा एक रात बिताएको र देउराली देवीको शक्ति प्राप्त गरेको विश्वासका आधारमा अत्यन्त श्रद्धा विश्वासका स्थान यहाँ पूजाआजा गरिन्छ ।
आजभन्दा दुई दशक अघिसम्म देउरालीको थानका रुपमा सामान्य ढङ्गाको शिला मात्र रहेकोमा स्थानीय जागरुकतासँगै यसलाई संरक्षण गरेर मन्दिर निर्माण गरिएको छ । नजिकै रहेको कोट मन्दिरसमेतलाई समेट्दै यहाँको संरक्षण र विकास थालिएको हो । 
पचभैया कोट देउराली संरक्षण तथा व्यवस्थापन समितिका पूर्वअध्यक्ष दीननाथ ढकालका अनुसार मन्दिरको निर्माणका लागि लागि २०६० सालमा महायज्ञ गरी सहयोग जुटाइएको थियो ।
महायज्ञबाट सङ्कलित सहयोगबाट झण्डै रु ५० लाखको लागतमा मन्दिर निर्माण गरिएको हो । मन्दिर परिसरमा मन्दिरसहित हवन कुण्ड, पुजारी आवास र कार्यालय रहेका छन् । मन्दिरमा परेवाका लागि पनि बस्ने स्थान बनाइएको छ । मन्दिरभित्र अन्य कुनै मूर्ति नरही प्राचीनकालदेखि रहँदै आएको शिला राखिएको छ ।
प्रचलित विश्वासअनुसार पञ्चपाण्डव एक वर्षे गुप्तवासका क्रममा हिमालयमा तपस्या गर्न पुगे । तपस्याबाट फर्कने क्रममा पचभैयामा एक रात बिताएछन् । एक रात बस्ने क्रममा उनीहरूले देवीको आराधना गरेको र उक्त स्थानमा देवी उत्पत्ति भई उनीहरूलाई शक्ति प्रदान गरेको विश्वास छ ।
 
पूर्वअध्यक्ष ढकालका अनुसार युधिष्ठिरसहितका पाँच भाइ बसेको स्थान भएका कारण उक्त समयदेखि यस स्थानलाई पञ्चभैया भन्न थालियो । पछि अपभ्रंस हुँदै यस स्थानको नाम पचभैया हुन गएको हो ।
 
हिमालको काखमा रहेको यस स्थानमा दुईतर्फ ठूला ठूला जलाशय९बेगनास ताल र रुपा ताल० रहेको र अत्यन्त रमणीय एवं शान्तस्थल भएकाले युधिष्ठिरको रोजाइ पचभैया पर्न गएको विश्वास गरिन्छ । बेगनास तालदेखि करीब डेढ किलोमिटर दूरीमा पर्ने यस मन्दिर परिसरबाट रमणीय हिमाली दृश्यका साथै तालतलैयाका कारण यहाँ आउने जो कोही रमाउने गरेका छन् ।  
 
यहाँ पूजाआजा गरेपछि मनोकांक्षा पूरा हुने जनविश्वासका साथ टाढाटाढाबाट दर्शनार्थी आउने गरेको पचभैया कोट देउराली संरक्षण तथा व्यवस्थापन समितिका पूर्वसचिव नरनारायण थापाले जानकारी दिनुभयो । मन्दिरमा बडादशैँ, चैतेदशैँमा विशेष पूजा हुन्छ भने अन्य विभिन्न धार्मिक अनुष्ठान गर्ने गरिएको छ । करीब एक रोपनी क्षेत्रफलमा मन्दिर रहेको र अर्को थप एक रोपनी जग्गा रहेको थापाले बताउनुभयो ।
 
नेपालकै पहिलो खुला चिडियाखानासमेत निर्माण हुन लागेको पचभैयाको पर्यटनमा पचभैया कोट देउरालीसमेतलाई समेटेर विकास गर्न सकिने पचभैया प्रगतिशील युवा मञ्चका अध्यक्ष सुनिल थापाले जानकारी दिनुभयो ।
 
उहाँका अनुसार यस क्षेत्रको समग्र पर्यटकीय विकासका साथै यहाँको गाईघाटस्थित खाली जग्गालाई खेल मैदानका रुपमा विकास गर्ने लक्ष्यका साथ यही वैशाख ५, ६ र ७ गते प्रथम वडास्तरीय भलिबल प्रतियोगिता गर्न लागिएको छ ।
 
महाभारतकालीन शक्तिपीठ भए पनि यसको उचित प्रचारप्रसार हुन नसकेको स्थानीय युवा एवं प्रथम वडास्तरीय भलिबल प्रतियोगिताका प्रचार संयोजक ऋषिकान्त पौडेलले जानकारी दिनुभयो । “महत्वपूर्ण स्थल भएर पनि हामीले यहाँको प्राचीनता तथा ऐतिहासिकताको प्रचारप्रसार गर्न सकेका छैनौँ”, उहाँले भन्नुभयो, “पचभैया कोट देउराली, निर्माणाधीन खुला चिडियाखानालगायतलाई समेट्दै यहाँको पर्यटकीय विकास गर्न सकिन्छ ।”
 
पचभैया क्षेत्रमा बढ्दै गएको पर्यटकीय आकर्षणसँगै हाल १४ वटा घरमा घरवास कार्यक्रम सञ्चालन गरिएको छ भने एक सुविधासम्म होटेल सञ्चालनमा आएको र अर्को बन्ने क्रममा रहेको होटेल एण्ड रेष्टुराँ एशोसिएशन लेखनाथका पूर्वअध्यक्ष दामोदरभक्त थापाले जानकारी दिनुभयो 
Categorized in राष्ट्रिय