पत्रकारमाथि दुव्र्यवहार
Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १७, मंगलबार
कान्तिपुर दैनिकका संवाददाता प्रताप रानालाई समाचार सङ्कलनको क्रममा तनहुँको भिमाद नगरपालिका–५ का सचिव रमेशप्रकाश बरालले सोमबार दुव्र्यवहार गरेका छन् । प्राकृतिक स्रोतसाधनमाथि भएको दोहनको समाचार सङ्कलनको सन्दर्भमा वडा कार्यालय पुगेका पत्रकार रानामाथि वडासचिव बरालले अभद्र व्यवहार गरेका हुन् ।
पत्रकारिताका माध्यमबाट आमजनतालाई सुसूचित पार्ने संवैधानिक हकअन्तर्गत सूचना माग्न कार्यालय पुगेको बेला ‘पत्रकारलाई सूचना दिन्न, जे गर्छौ गर’ भन्दै बरालले आफूमाथि दुव्र्यवहार गरेको रानाले बताउनुभयो । उहाँले भन्नुभयो, “समाचार सङ्कलनको सिलसिलामा वडा कार्यालयमा जाँदा वडासचिव बरालले आक्रमक शैलीमा ममाथि दुव्र्यवहार गर्नुभयो ।”
नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले सोमबार नै प्रेस विज्ञप्ति प्रकाशित गरी शाखाका कोषाध्यक्षसमेत रहनुभएका रानाप्रति भएको दुव्र्यवहारको निन्दा गरेको छ । शाखाका अध्यक्ष ओमकार आचार्य र सचिव उज्ज्वल पौडेलले संयुक्तरूपमा प्रेस विज्ञप्ति प्रकाशित गरी ‘पत्रकारलाई सूचना दिन्न, जे गर्छौ गर’ भन्ने बरालको अभिव्यक्ति निन्दनीय रहेको जनाउनुभएको छ ।
“राज्यको चौथो अङ्गका रुपमा हेरिने पत्रकारिता क्षेत्रलाई नै अपमानित गर्ने ढङ्गले वडासचिव बरालले गरेका अपमानजनक दुव्र्यवहारप्रति महासङ्घ खेद प्रकट गर्दछ”, विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा सूचनाको हकको प्रत्याभूति र पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै निर्वाधरूपमा सुरक्षित ढङ्गले पत्रकारिता गर्ने वातावरण निर्माण गर्न माग गर्दै पत्रकारमाथि दुव्र्यवहार गर्ने वडासचिवमाथि कारवाहीको माग गरिएको छ ।
Categorized in राष्ट्रिय