STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पत्रकार बोहोरालाई उपचार खर्चको अभाव

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक १, शुक्रबार

आर्थिक अभावका कारण पत्रकार अर्जुन बोहोराको उपचार प्रभावित भएको छ । मस्तिष्कघातका कारण गम्भीर बिरामी भई काठमाडौँ, बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत उहाँलाई खर्चको अभाव भएको हो । उहाँ यही असोज ११ गतेदेखि बिरामी हुनुभएको थियो । बोल्न र हिँडडुल गर्न नसक्ने भएपछि बेहोस अवस्थामै आइतबार काठमाडौँ लगिएको हो । सिमकोट गाउँपालिका– २ का २९ वर्षीय बोहराको पारिवारको आर्थिक अवस्थासमेत नाजुक छ । उहाँको परिवार र जिल्लाका पत्रकारले उपचारका लागि आर्थिक सहयोग गर्न अपिल गरेका छन् । सदरमुकाम सिमकोटस्थित सामुदायिक रेडियो कर्णाली आवाजमा कार्यरत उहाँ नेपाल पत्रकार महासङ्घ शाखा अध्यक्षसमेत हुनुहुन्छ । कमजोर आर्थिक अवस्थाका कारण सहयोगको खाँचो परेको अर्जुनका दाजु विष्णु बोहराले बताउनुभयो । उपचारमा संलग्न चिकित्सकले उहाँको स्वास्थ्य अवस्था सुधार भइरहे पनि अझै केही समय अस्पताल बस्नुपर्ने बताएको विष्णुले बताउनुभयो । सघन उपचार कक्षमा उपचार भइरहेको उहाँको रगत परीक्षणका लागि भारत पठाइएको छ । विष्णुले कम्तीमा रु १५ लाख आवश्यकपर्ने बताउनुभयो । “घरबाट ल्याएको पैसा सकियो, दैनिक रु २० देखि ४० हजारसम्म अस्पतालमा बुझाउनुपर्छ”, उहाँले भन्नुभयो, “सहयोग जुटेको पैसा पनि सकिँदैछ, लामो समय सघन उपचार कक्षममै राख्नुपर्ने अवस्थाका कारण खर्च धेरै लाग्ने देखिएको छ ।” उपचारका लागि आर्थिक सहयोग गर्न इच्छुकलाई अर्जुनका दाजु विष्णुको राष्ट्रिय वाणिज्य बैंक सिमकोट शाखामा रहेको खाता नं ४१९०००४९२७१० मा बचत गर्न अपिल गरिएको छ । छ लाख सङ्कलन जिल्लाका पत्रकारले आफ्ना सहकर्मीको जीवनरक्षाका लागि आर्थिक सहयोग सङ्कलन थालेका छन् । यहाँ क्रियाशील पत्रकार नवराज महतराका अनुसार हालसम्म करीब रु छ लाख सङ्कलन भइसकेको छ । उहाँले सामाजिक सञ्जालबाट समेत सहयोगको अभियान सञ्चालन गरिएको बताउनुभयो । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले आफ्नो एक महीनाको पारिश्रमिक प्रदान गर्नुभएको छ । पूर्वमन्त्री एवं सांसद जीवनबहादुर शाही र किर्डाक नेपालका गोविन्द शाहीले रु ३०÷३० हजार व्यक्तिगत सहयोग गर्नुभएको छ । त्यस्तै पत्रकार महासङ्घले रु २० हजार, ओदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले रु १० हजार, सिमकोट गाउँपालिका उपाध्यक्ष बली रावलले रु २० हजार सहयोग गर्नुभएको छ । विभिन्न जिल्लाका पत्रकारबाट संस्थागत र व्यक्तिगतरुपमा सहयोग जुटिरहेको पत्रकार महतराले जानकारी दिनुभयो ।
Categorized in राष्ट्रिय