STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पराजित यादवको संसद छिर्ने

Janjati Khabar – Janjati Khabar | २०७९ फाल्गुण १२, शुक्रबार

काठमाडौं - गएको चुनावमा जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतसँग प्रतिनिधिसभामा पराजित भएपछि संसदीय यात्राबाट विमुख जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव राष्ट्रपतिको विषयमा भएको विवादलाई छिचोल्दै संसद छिर्ने दाउमा जुटेका छन् ।

एमाले–माओवादीको सत्ता सहकार्यपछि उपेन्द्र उपेक्षामा परे । त्यसैले पनि उनी सरकारमा सहभागी नै भएनन् । तर, पछिल्ला राजनीतिक घटनाक्रमले वर्तमान सत्ता गठबन्धन तोडिने सम्भावना छ ।

यसैकारण उनी फेरि संसद छिर्ने बाटो खुल्छ कि भन्ने आशाले थप उत्साहित देखिन्छन् । त्यसैले नै उनले कांग्रेस–माओवादी केन्द्रसहितको गठबन्धन बन्ने अपेक्षामा उपराष्ट्रपतिमा आफ्नो पार्टीको दाबीलाई दोहोर्‌याएका छन् ।

एमाले–माओवादी केन्द्रको गठबन्धनमा रहने कोसिस गरेका उपेन्द्रले तत्कालिन समयमा उपराष्ट्रपतिका लागि दाबी पुग्ने नदेखेपछि सरकारमै सहभागी हुन मानेनन् । उनलाई सत्ता गठबन्धनले मन्त्री छुट्याएर राखेको थियो ।

दुई मन्त्रालय दिन तयार गठबन्धनमा उपराष्ट्रपति पाउने नदेखिएपछि उनी सरकारमा सहभागी हुने त परको कुरा गठबन्धनका बैठकमै अनुपस्थित हुन थालेका थिए । तर, वर्तमान सत्ता गठबन्धनमा राष्ट्रपतिको विषय पेचिलो बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ पुरानो गठबन्धन ब्यूँताउने कसरतमा जुटे । यसपछि भने उपेन्द्रको रहस्यमयी दौडधूप बाक्लिन थालेको छ । उनी अहिले माओवादी केन्द्र आफ्नो पार्टीलाई उपराष्ट्रपति दिन तयार रहेको बताइरहेका छन् ।

उपेन्द्रले यसअघि पनि वर्तमान गठबन्धनमा छिरेर उपराष्ट्रपतिका निम्ति चर्को बार्गेनिङ गरेका थिए । यसको एउटै उद्देश्य थियो, आफू उपचुनावमार्फत सांसद बन्ने । उनले सांसद बन्नका लागि आफ्ना विश्वासपात्र रामसहाय यादवलाई पठाएर उपचुनावसहित गठबन्धनको जोडबलमा संसद छिर्ने तयारीमा छन् ।

राष्ट्रपति र उपराष्ट्रपतिबारे एक जना महिला अनिवार्य हुनुपर्ने भन्ने बाहिर सन्देश गएको छ ।

यसकारण पनि कांग्रेस वा नेकपा एस जसले राष्ट्रपति पाएपनि उपेन्द्रका विश्वासपात्र उपराष्ट्रपति बन्न नसक्ने दाबी गरेको देखिन्छ । तर, संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपतिको योग्यताबारे भनिएको छ, ’राष्ट्रपति र उपराष्ट्रपति फरक फरक लिंग वा समुदायको हुनेः यस संविधान बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिंग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नु पर्नेछ ।’

यसरी हेर्दा फरक समूदायको व्यक्ति भनेर उनका विश्वासपात्र रामसहायलाई उपराष्ट्रपति बनाएमा उपेन्द्रका लागि संसद छिर्न सहज हुने देखिन्छ ।

यतिबेला उनी आफू सांसद बन्न समिकरणको आकार भन्दा उपराष्ट्रपति आफ्नो दलले पाउनुपर्ने बटम लाइनमा देखिन्छन् । तर, यो सम्भव होला त ? यसकालागि केहि दिन कुर्नैपर्नेछ ।

Categorized in राजनीति