पल शाह प्रकरण : नाबालिगले फेरिन् बयान
Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख ४, आइतबार
काठमाडौं - नायक पल शाह (पूर्णविक्रम शाह) ले आफूमाथि पटकपटक बलात्कार गरेको भन्दै जाहेरी दिएकी नाबालिगले अदालतमा आफ्नो बयान फेरेकी छन् । पीडित भनिएकी नाबालिग गायिकाले अदालतमा बकपत्र गर्ने क्रममा पलले बलात्कार नगरेको भनेर बयान दिएकी हुन् ।
जिल्ला अदालत तनहुँमा आइतबार बयानको क्रममा नाबालिग गायिकाले प्रहरीले जबरजस्ती आफूलाई हस्ताक्षर गर्न लगाएको तथा उजुरी दिनका लागि दबाब दिएको भनेर बयान दिएकी हुन् । आफूले दबाबमा जाहेरी दिएको र प्रहरीले आफैँ बयान लेखेकोसमेत उनको दाबी रहेको अदालत स्रोतले जानकारी दिएको छ ।
नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा पक्राउ पूर्जी जारी भएपछि गत फागुन १५ गते प्रहरीसमक्ष आत्मसमर्पण गर्दै शाह जिल्ला प्रहरी कार्यालय, तनहुँमा उपस्थित भएका थिए । तनहुँमा बलात्कार कसुरमा अनुसन्धान भइरहेका बेला नवलपरासी पूर्वमा समेत शाहले बलात्कार गरेको भन्दै जाहेरी परेको थियो । दुवै घटनाको पीडित उही नाबालिग थिइन् ।
जिल्ला अदालत तनहुँ र नवलपुर दुवै अदालतले प्रारम्भिक सनुवाइ गर्दै शाहलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । उनी जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदनमा गएका छन् । हाल उनी तनहुँ कारागारमा छन् ।


