पशुपति विकास कोषको गुरुयोजना खारेज गर्न नेवाः मुक्ति मोर्चाको माग
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण १९, सोमबार
जनजातिखबर संवाददाता
काठमाडौं – प्राचीन नेवार बस्ती गोल (देवपत्तन) बाट जनताको उठीबास गराउने योजना पशुपति विकास कोषले ल्याएकोमा त्यसको खारेजीको माग गर्दै नेवाः राष्ट्रिय मुक्ति मोर्चाले सम्बन्धित निकायको ध्यानाकर्षण गरेको छ । मोर्चाका अध्यक्ष पवनमान श्रेष्ठले एक विज्ञप्ति जारी गरी कोषको सो गुरुयोजनाको घोर भत्र्सना गर्दै यसबारे मन्त्रालय र सरकारको दृष्टिकोण माग गरेको छ । साथै यस गुरुयोजना तत्काल खारेज गरी पशुपति विकास कोषका सदस्य सचिव एवं त्यससँग सम्बन्धित सबै कर्मचारीको तत्काल बर्खास्तीको माग पनि मोर्चाले गरेको छ । कोषले गुरुयोजना तयार गर्दा स्थनीय जनता र जनप्रतिनिधि कसैसँग कुनै सल्लाह नगरी मन्त्रालयमा स्वीकृतिको लागि पठाएको र यस गुरुयोजनाले कामपा वडा नं. ८ नै खालि हुने स्थिति आएको पनि विज्ञप्तिमा उल्लेख छ । पशुपति मन्दिरसँग जोडिएको संस्कृति र सम्पदा संरक्षण र निरन्तरता दिने काम लिच्छविकालीन नेवार बस्ती देवपत्तनबाट हुँदै आएको छ । तर पशुपति क्षेत्र विकासको नाममा बस्तीलाई जबर्जस्ती उठीबास गर्ने योजना कोषले ल्याएकोमा यसलाई ब्राह्मणवादको क्रूर र कुरुप उदारहणको रुप भनी मोर्चाले यसको विरोध गरेको छ । पशुपति विकास कोषले गत चैत महिनामा पशुपति क्षेत्रको समग्र विकासको लागि चौथौं गुरुयोजना संस्कृति, पर्यटन र उड्डयन मन्त्रालयमा स्वीकृतिको लागि पठाएको थियो । १५ वर्षमा सम्पन्न गर्ने र हरेक पाँच वर्षमा एक चरणको हिसाबले तीन चरणमा सो गुरुयोजना पूरा गर्ने लक्ष्य कोषले लिएको छ । यसको लागि ४० अर्ब बजेट लागत तयार गरिएको छ ।
Categorized in उपत्यका


