STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पश्चिमी पहाडी क्षेत्रको बालन नाच लोप हुँदै

Janjati Khabar – जनजाति खबर | २०७५ माघ २५, शुक्रबार

उदयपुर जिल्लाको मध्य तथा पश्चिमी पहाडी क्षेत्रमा ठूलो सङ्ख्यामा बसोबास गर्दै आएका ब्राह्मण तथा क्षेत्रीले विभिन्न चाडपर्व, धार्मिक कार्य, विवाह, ब्रतबन्धमा परम्परागतरुपमा नृत्य गर्दै आएको बालन नाच हिजोआज बिस्तारै लोप हुँदै जान थालेको छ । अन्य बाह्य गीत, सङ्गीत र संस्कृतिका कारण आफूहरुको बालन नाच लोप हुन थालेकामा जिल्लाका पहाडी क्षेत्रका बूढापाका भने निकै चिन्तित बन्न थालेका छन् । उदयपुरगढी गाउँपालिका–५ नेपालटारका ८० वर्षीय शेषराज खतिवडा भन्नुहुन्छ, “हिजो बाजेपुर्खाले परम्परागतरुपमा प्रस्तुत गर्दै आएका बालन नाचलाई निरन्तर दिएर बचाउँदै आयौँ तर अहिलेका पुस्ताले बालन नाच चटक्कै भुले, संस्कृति लोप हुने खतरा बढ्यो ।” बालान नृत्य दिनानु दिन लोप हुन थालेको विषयमा रौतामाई गाउँपालिका– २ भुटारका ७५ वर्षीय होमप्रसाद दाहालको समेत निकै दुखेसो बढेको छ । दाहाल भन्नुहुन्छ, “आफूहरुको पालामा गाउँघरमा सत्यनारायणको पूजा लगाउँदा होस्, या विवाह, पास्नी, व्रतबन्ध, मङ्सिरे पूर्णिमा, ठूली एकादशी, रामनवमीजस्ता पर्वमा रात्रिको समयमा रातभरि बालन नृत्य गर्ने गरेका थियौँ, यस्तो कार्यले बाजे पुर्खाको पालादेखि निरन्तर चल्दै आएको यो संस्कृति हामीले पनि बचाउँदै आएका थियौँ ।” अहिले यस्ता पर्वमा डिस्को नृत्य हुन्छ, हिन्दी अङ्ग्रेजी गीत गुन्जन्छन्, अहिलेका पुस्ता यसैमा रमाउँदा परम्परागत बालान नाच लोप हुँदै गएको दाहाल बताउनुहुन्छ । रौतामाई–२ भुटार नौलेका ७२ वर्षीय दानबहादुुर राउतका अनुसार उदयपुरको रुपाटार, भुटार, हर्देनी, बाहुनीटार, पञ्चावती, सिरिसे, मयङ्खु, बराह, ठानागाउँ, रुपाटार क्षेत्रको बाक्लो क्षेत्री ब्राह्मण बसोबास गर्दै आएका क्षेत्रमा केही वर्षअघिसम्म पनि वर्षको कुनै न कुनै समयका विभिन्न तिथि पर्वमा बालान नाच आयोजना हुने गरेको राउत बताउनुहुन्छ । हिजोआज यो नाच जिल्लाको पहाडी क्षेत्रको कुनै पनि गाउँघरमा विभिन्न चाडपर्व तिथिमितिमा देख्न र सुन्न पनि पाउन छाडिएको राउत बताउनुहुन्छ । विगतमा बालन नृत्य गर्दा धार्मिक ग्रन्थ रामायणको घटनामा आधारित भएर रामायणकै घटनाका कथावस्तुलाई गीत बनाएर पुरुष संयुक्तरुपमा दोहोरो गीत गाउँदै सामूहिक नृत्य गरिने गरेको र बालन नृत्यको रौनक नै अर्कै हुने कुरा उदयपुर ठानागाउँका कृष्णप्रसाद बराल बताउनुहुन्छ । हिजोआज हिन्दी तथा पाश्चात्य संस्कृतिको प्रभावका कारण आफूहरुको खाट्टि परम्परामा आधारित बालान नृत्यको प्रचलन नै हराउँदै गएपछि अब यो लोप हुने अवस्थामा पुगेको धारणा बरालको रहेको छ । बालन नृत्य लोप हुँदै जानुमा अहिलेका युवा पिढीनै दोषी रहेको त्रियुगा जनता बहुमुखी क्याम्पस उदयपुरका सहप्रध्यापक टीकाप्रसाद पौडेलको भनाइ छ । पौडेल भन्नुहुन्छ, “हामीले बाजेपुर्खाले सिर्जना गरेको संस्कृति बालन नृत्य भुल्दै गयौँ, अन्य संस्कृतिको प्रभावमा प¥यौँ ।” अबका युवालाई बालन नृत्यसम्बन्धी प्रशिक्षण दिनुपर्ने र प्रत्येक चाडपर्वमा बालन नृत्य अनिवार्यरुपमा प्रदर्शन गर्ने हो भने यो संस्कार र संस्कृतिको संरक्षण हुने सहप्राध्यापक पौडेलको धारणा छ । जिल्लाको पहाडी क्षेत्रको क्षेत्री, ब्राह्मण समाजको लोकप्रिय संस्कृति बालन नाच दिनानुदिन लोप हुँदै जान थालेपछि अब यसको संरक्षण अनिवार्यरुपमा गर्नुपर्ने अवस्था आएको विज्ञ तथा बुढापाका बताउँछन् । –रासस
Categorized in उपत्यका