पहिचान पक्षधरहरु एउटै चिह्न लिई चुनावमा जाने तयारीमा
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ ४, बिहिबार
काठमाडौं – पहिचानमा आधारित संघीय गठबन्धनको कार्यसमितिको बैठक बुधबार बसेको छ । थारुवान राष्ट्रिय मोर्चाको कार्यालयमा बसेको बैठकमा पहिचान पक्षधरहरु एकजुट भई अघि बढ्न छलफल भएको जनाइएको छ ।
नेपाः राष्ट्रिय पार्टीलगायत संविधान सभामा प्रतिनिधित्व भएका जनजाति पार्टी र थारु मोर्चालगायत खसान संघर्ष समितिलाई समावेश गरी वर्षदिनभित्र ए.एन.सी. मोडेलअनुरुप एउटा चुनाव चिह्न लिएर चुनावमा जानुपर्नेमा जोड दिएको जनाइएको छ ।
यसको लागि नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष डा. विजय सैंजूको संयोजनमा संविधानसभा सदस्य आर.के. खम्बु, भानुराम थारु र संघीय मञ्चका अधयक्ष कुमार लिंगदेन समावेश चार सदस्यीय समिति पनि गठन गरिएको संयोजक सैंजुले बताएका छन् ।
यसैगरी टीकापुर घटनालाई लिएर ७ र ८ गते थारुवानले वृहत कार्यक्रम गर्ने बारे पनि छलफल भएको बताइएको छ । यसैगरी बैठकमा संविधान आएको असोज ३ गतेको दिनलाई कालो दिवसको रुपमा मनाउनेबारे पनि छलफल भएको जनाइएको छ ।
गठबन्धनको सहयोगमा थारुवान राष्ट्रिय मोर्चाद्वारा घोषित आन्दोलन कोरोना महामारीले निम्त्याएको लकडाउनको कारण स्थगन भएको थियो ।
बैठकमा खम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष आर.के. खम्बु, थारुवान नेता लक्ष्मण थारु, भानुराम थारु, प्रेमबहादुर खाति, नेपाः राष्ट्रिय पार्टीका डा. विजय सैंजुलगायतको उपस्थिति थियो ।
Categorized in राजनीति