STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पहिरोले घर बगाउँदा तीन बेपत्ता

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २७, शुक्रबार

खोटेहाङ गाउँपालिका२ बाप्लुखामा पहिरोले एउटा घर बगाउँदा एक व्यक्ति घाइते हुनाका साथै तीन बेपत्ता भएका छन् । चार दिनदेखि लगातार परेको वर्षाका कारण आज बिहान झरेको पहिरोले घर बगाउँदा ३१ वर्षीय विष्णु राई घाइते हुनुभएको छ भने उहाँकी श्रीमतीसहित एक छोरा र एक छोरी बेपत्ता भएका हुन् । आज बिहान करीब ५ बजेतिर झरेको पहिरोले घरमा सुतिरहेका चारै जनालाई बगाएको विष्णुका दाजु श्यामले बताउनुभयो । “पहिरोले घर बगाउनासाथ स्थानीयवासीले भाइ विष्णुलाई घाइते अवस्थामा उद्धार गरेका रहेछन्”, उहाँले भन्नुभयो, “अहिले बेपत्ताको उद्धारका लागि खोटाङ बजार इलाका प्रहरी कार्यालयबाट प्रहरीसहितको टोली घटनास्थलमा परिचालन भएका छन् ।” घटनास्थल जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बाप्लुखाको गोपिनीस्थित एकान्त ठाउँमा पर्दछ । घटनास्थल वरपर टेलिफोन तथा मोबाइल सेवासमेत उपलब्ध नहुँदा बेपत्ताबारे थप जानकारी पाउन नसकिएको प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताउनुभयो । घरदेखि करीब ४०० मिटरमाथिबाट पहिरो झरेको ठाउँमा अहिले पनि भारी वर्षा भइरहेकाले उद्धारमा समस्या हुनाका साथै लगातारको वर्षाले जिल्लाका अन्य ठाउँमा पनि क्षति पुगेको स्थानीयवासीले बताएका छन् । जिल्लाका अन्य ठाउँमा भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लामा लगातारको वर्षासँगै चलेको हावाहुरीले गए रातिदेखि विद्युतसमेत अवरुद्ध भएको छ ।
Categorized in अपराध-दुर्घटना