STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पाँचखालमा लिच्छवीकालीन संरचनाका भग्नावशेष

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २७, सोमबार

पाँचखाल नगरपालिका–७ स्थित श्रीरामपाटीमा लिच्छवीकालीन संरचनाको भग्नावशेष तथा सामग्री भेटिएको छ । पुरातत्व विभागको एक टोलीले करीब दुई साता उक्त स्थानको सम्पदा अध्ययन एवं उत्खननका क्रममा लिच्छवीकालीन संरचनाको भग्नावशेष तथा सामग्री फेला पारेको हो । 
टोलीले यही जेठ १५ गतेदेखि श्रीरामपाटीमा स्थानीयद्वारा ऐतिहासिक दरबार क्षेत्र रहेको भनिएको स्थानबाट उत्खनन कार्य शुरु गरेको थियो । विभागका पुरातत्व अधिकृत विष्णुप्रसाद पाठकले आइतबार टोलीले आफ्नो उत्खनन कार्य सकेको बताउनुभयो । उहाँले भन्नुभयो, “उत्खननमा भेटिएका सामग्री परीक्षणका लागि विभाग लान्छौँ, उत्खनन गरिएको स्थान सुरक्षित गरी पुरानै अवस्थामा ल्याएका छौँ ।” 
पुरानो दरबार क्षेत्र रहेको भनिएको स्थानमा २४ इञ्चको ढुङ्गाको गारो कोठा तथा बाहिरी भागमा पर्खाल रहेको संरचना भेटिएको वरिष्ठ पुरातत्वविद् उद्धव आचार्यले बताउनुभयो । उहाँका अनुसार करीब दुई साताको अवधिमा गरिएको उत्खनन÷परीक्षणका क्रममा माटोका भाँडाका टुक्रा, मसला पिँध्ने ढुङ्गाको खल, शिवलिङ्ग, ढुङ्गेधारा, रानीपोखरी भनिएको स्थानमा जमीनमुनि पाको माटोको डुँडबाट पानी ल्याउन बनाइएको पाइप तथा केही चौडा आकारका इँटा भेटिएको छ । आचार्यले भन्नुभयो, “भेटिएको संरचना र सामग्री लिच्छवीकालीन हुन् ।” 
पाठकको नेतृत्वको टोलीमा वरिष्ठ पुरातत्व विज्ञ आचार्य तथा इञ्जिनीयरलगायत छ जनाको टोलीले उक्त क्षेत्रको उत्खनन गरेको हो । स्थानीय बूढापाकाले पाँचखाल क्षेत्रमा मानदेवको दरबार, रानीपोखरी, रानीपानीको कुवा, ढुङ्गेधारा र रानीपोखरी क्षेत्र करीब १२ रोपनीमा फैलिएको जस्ता विषय भन्दै आएका थिए । हाल स्थानीय प्रकाश ढकालको खेतका गरामा खण्डखण्डमा कोठा रहेको घरको गारो तथा पर्खाल भेटिएको हो । 
स्थानीयले खेतबारी खनजोत गर्ने क्रममा सयौँ वर्ष पुराना केही इँटा र सिक्का ९मानाङ्क०, घरको जग, भाँडाका टुक्रा फेला पारेपछि पुरातत्व विभागसँग सम्पदा संरक्षणको माग गर्दै आएका थिए । पुरातत्व विज्ञ आचार्यसहितको टोलीद्वारा गत साल चैतमा गरिएको प्रारम्भिक अध्ययनका क्रममा भेटिएको सिक्काका एक पाटामा ‘भोगिनी’ लेखिएको छ भने अर्को पाटामा सिंहको चित्र रहेको छ । विज्ञ आचार्यका अनुसार भोगिनी पाली भाषा हो । 
आचार्यका अनुसार प्रारम्भिक अनुसन्धानमा भेटिएका सबै सामग्री पनि लिच्छवीकालीन हुन् । उहाँका अनुसार भेटिएका प्रमाण लिच्छवीकालीन पाँचौँ, छैटौँ, सातौँ र आठौँ शताब्दीका हुन् । रानीपोखरी रहेको भाग पुरिएपछि स्थानीयले सोही स्थानमा खेतीपाती गर्दै आएका छन् भने त्यस क्षेत्रमा एक इँटा उद्योग सञ्चालित छ । स्थानीय नवराज ढकालले पनि हालैमात्र आफ्नो खेत खनजोत गर्दा माटोको घैँटोमा केही सिक्का भेटिएको बताउनुभयो । 
Categorized in राष्ट्रिय