STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पाँच प्रदेशका पाँच नगरसँग काठमाडौँ महानगरको भगिनी सम्बन्ध स्थापना

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ श्रावण २७, बुधबार

काठमाडौँ महानगरपालिकाले   एक प्रदेश एक अन्तरस्थानीय तह भगिनी सम्बन्ध स्थापना गर्ने योजनाअनुसार महानगरपालिकाले  कर्णालीको चन्दननाथ, बागमतीको मेलम्ची र लुम्बिनीको रामग्राम नगरपालिकासँग सम्बन्ध स्थापना गरिसकेको छ ।  यसै क्रममा हालै थप दुई वटा नगरपालिकासँग अन्तरस्थानीय तह भगिनी सम्बन्ध स्थापनाका लागि समझदारी–पत्रमा हस्ताक्षर गरेको छ ।  

राजधानीमा एक कार्यक्रमको आयोजना गरी काठमाडौँ महानगरपालिकाले प्रदेश नम्बर–१ को पाख्रीबास नगरपालिका र सुदुरपश्चिम प्रदेशको अमरगढी नगरपालिकासंग अन्तरस्थानीय तह भगिनी सम्बन्ध स्थापनाका लागि समझदारी–पत्रमा हस्ताक्षर गरेको हो ।

ती दुई नगर बीच गरेको समझदारी पत्रमा काठमाडौँ महानगरपालिका तर्फबाट प्रमुख विद्यासुन्दर शाक्यले हस्ताक्षर गर्नुभयो भयो । त्यसैगरी अमरगढी नगरपालिकाका तर्फबाट विश्वेश्वरप्रसाद ओझा र पाख्रीबास नगरपालिकाको तर्फबाट बृषबहादुर राईले हस्ताक्षर गर्नुभयो ।  

हितैषी तथा मैत्रीपूर्ण सम्बन्ध मार्फत संस्थागत प्रणालीलाई अझ सुदृढ र सवल बनाउने, आपसी हित र सहकार्यलाई बढावा दिने, असल अभ्यास र अनुभवको आदान प्रदान गरी स्थानीय स्वायत्त शासन, स्वशासन र समृद्ध नगर निर्माणको अभियानमा आपसी समन्वय, साझा प्रयत्न र सहकार्य गर्ने उद्देश्यले दुई नगरहरुकाबिच भगिनी सम्वन्ध स्थापनाको अभियान अघि बढाएको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो । 

एकै पटक धेरै वटा स्थानीय तहसँग मितेरी लगाउँदा त्यसलाई दिगो बनाउन समस्या हुन सक्ने भन्दै पहिलो चरणमा सात प्रदेशका सात स्थानीय तहसँग भगिनी सम्बन्ध स्थापना गर्ने तयारी गरेको र त्यहि अनुरुप थप दुई नगरसँग सम्बन्ध स्थापना गरेको उहाँले जानकारी दिनुभयो । 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २६ को खण्ड (ट) को कानुनी व्यवस्था बमोजिम संघीय राजधानी काठमाडौंमा रहेको ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्वको काठमाडौं महानगरपालिकाले भगिनी सम्बन्ध स्थापनाको कार्यलाई अघि बढाएको महानगरपालिकाले जानकारी दिएको छ । 

कार्यक्रमलाई सम्बोधन गर्दै पाख्रीबास नगरपालिकाका प्रमुख बृषबहादुर राईले काठमाडौँ र पाख्रीबासको भूगोल एउटै भए पनि सपना अलग–अलग रहेको भन्दै  दुई स्थानीय तहबीचको सम्बन्धले आफू उत्साहित भएको बताउनुभयो । 

कार्यक्रममा सम्बोधन गर्दै अमरगढी नगरपालिकाका प्रमुख विश्वेश्वरप्रसाद ओझाले बडाकाजी अमरसिंह थापाले पश्चिमी क्षेत्रको एकीकरणका बेला निर्माण गरेको ऐतिहासिक अमरगढी किल्ला र त्यहि किल्लाको नामबाट स्थापित ननगरपालिका र साँस्कृतिक सहर काठमाडौँ महानगरबिच भगिनी सम्वन्ध स्थापना गर्न पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले सहिद भिमदत्त पन्तको जन्मूभि, प्रसिद्ध धार्मिक स्थल उग्रतारा रहेको अमरगढी धार्मिक तथा पर्यटकीय स्थल पनि रहेको जानकारी दिनुभयो । 

कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले विकास निर्माणका काममा हातालेमालो गर्दै काठमाडौँ महानगरपालिका अघि बढेको बताउनुभयो ।   

समझदारी पत्रमा हस्ताक्षसँगै काठमाडौँ महानगरपालिकाले नगर–नगर साझेदारी कार्यक्रम अन्तरगत पाख्रीबास नगरपालिकाको सुन्तले डाँडाको धार्मिक तथा पर्यटकीय क्षेत्र विकासका लागि त्यहाँ पार्क निर्माण गर्न १ करोड ५० लाख सहयोग सम्झौता गरेको छ । 

त्यसैगरी अमरगढी नगरपालिकाको वडा नम्बर–२ र ५ मा अवस्थित अमरगढी पार्क निर्माणका लागि पनि १ करोड ५० लाख सहयोग गरेको छ । ४ सय ५० रोपी क्षेत्रफल रहेको सो पार्क निर्माणका लागि सहयोग गरेको महानगरपालिकाले जानकारी दिएको छ ।

Categorized in उपत्यका