पांगामा सापारु रुट : परम्परादेखि चल्दै आइरहेको पुरानो रुट कायम हुने भो
Janjati Khabar – ललेन्द्र शाक्य | २०८२ श्रावण २३, शुक्रबार
कीर्तिपुर/देशमा परापूर्वकालदेखि नेवाः समुदायमा संगठित हुने निकाय “गुथि” विकास हुँदै हालसम्म पनि कायम रहेको अवस्था छ । यही गुथिकै नक्कल हालका विभिन्न संघसंस्था, समूह एवं पार्टी संरचना हुन् भने पनि फरक नपर्ला । यही गुथिको विकासक्रमलाई नियाल्ने हो भने परापूर्वकालदेखि नेवाः समुदाय संगठित हुँदै आइरहेको चेतनशील एवं विकासशील समुदाय नेवाः समुदाय हो भन्ने प्रमाणसहित समाजमा उभिएको छ । यही कारण पनि गुथि नेवाः समुदायको विशाल शक्ति हो भने पनि फरक नपर्ला । गुथिको विरुद्ध कदम चाल्ने हिम्मत कसैले पनि चाल्नै सक्दैन । नेवाः समुदायको गुथि आन्दोलनले नेपाल सरकारलाई परास्त गर्न सक्छ भन्ने प्रमाण उक्त गुथि आन्दोलनले देखाइसकेको छ ।
यही क्रममा यस वर्षको सापारु पर्वलाई भव्य सभ्य गरी मनाउने क्रममा कीर्तिपुरको ऐतिहासिक बस्ती पांगामा संयुक्त गुथि समितिबाट परम्परागत परम्परालाई यथावत राख्ने गरी पांगामा हुने सापारु जात्राको रुट निर्धारण गरेको छ ।
संयुक्त गुथि समिति कीर्तिपुर नगरपालिका पांगाले सायाः ग्वाहालि पुचः पांगाका संयोजकलाई सम्बोधन गर्दै एक विज्ञप्ति सार्वजनिक गरेको छ । उक्त विज्ञप्ति संयुक्त गुथि समितिका सचिव हिराबहादुर महर्जनले हस्ताक्षर गरी सार्वजनिक गरिएको हो ।
सापारु रुट सम्बन्धमा सार्वजनिक भएको विज्ञप्तिमा भनिएको छ, “देशमा विस्तार हुँदै आइरहेको नयाँ बस्ती निर्माणले गर्दा पहिलेको तुलनामा हाल गाउँ क्षेत्र विकसित हुँदै एक अर्को गाउँसम्म मिसिसकेको अवस्थामा परम्परादेखि चल्दै आइरहेको जात्रा पर्वको रुट परिवर्तन गर्दा पछि विकराल समस्या लगायत आफ्नोपन समेत गुम्न जानसक्सने भएकोले पांगामा परम्परादेखि चल्दै आइरहेको सापारुको रुट विस्तार नगरी परम्परादेखि चल्दै आइरहेको पुरानो रुटलाई नै मान्यता दिनु मनासिब देखिएकोले अब उप्रान्त तपसिल बमोजिमको परम्परागत रुटमा मात्र जात्रा संचालन गर्ने निर्णय भएको व्यहोरा अनुरोध गर्दछौं ।”
संयुक्त गुथि समितिले सापारुको रुट सम्बन्धमा तपसिलमा जात्रा हुने टोलहरु उल्लेख गरिएको छ । सार्वजनिक गरिएको विज्ञप्तिमा जात्रा हुने रुट यसरी उल्लेख गरिएको छ –
धुसी टोलबाट शुरु गरी लाछी, माहाबो, लखु, ध्वाखाफः, खाचो, दथल, बाकुननी खिपाकु, पिनेकेब, लायब, दीख्यः, ध्वाखाफः, लाछी, दुनिख्यः, भुजिन्द, तुचाख्यः, कलगाः, ध्वाखासी, पासिमादोपा, बसुन्धरा, सालिक, याकःछेँ, पाहु, हेखाली, लाछी हुँदै अन्तिम दथलबाट (थाचिनां छ्वःगु छेँ) सापारु शुरु गरेको घरसम्म उल्लेख गरिएको छ ।


