STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पाटनमा कुमारीको नयाँ आसन

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ बैशाख ३०, बिहिबार

ललितपुरको जीवित देवी कुमारीको आसन अस्सी वर्ष पछि आएर बल्ल  फेरिएको छ ।

रत्नाकर महाविहारमा रहेको कुमारी घरमा जीवितदेवी  कुमारीलार्ई विहीबार पहिलो पटक नयाँ आसनमा विराजमान गराइयो । यस अघि महाविहारमा गुरुजु (बेताजु) बुद्धरत्न बज्राचार्यले संकल्प र पञ्चोपचार पुजा गर्नुभएको थियो । त्यसपछि वडाको तर्फबाट सदस्य सुप्रभा शाक्यले विहारका ज्येष्ठ सदस्य चक्रेश्वर आजु (ज्येष्ठ) ज्ञानबहादुर बज्राचार्य र सिद्धिरत्न बज्राचार्यलाई आसन हस्तान्तरण गर्नुभयो ।

वरिष्ठ कलाकार प्रचण्ड शाक्यले सो आसन तयार पार्नुभएको  चाँदीको कलात्मक आसन सुनले लेपन गरिएको छ । यस अघिको पुरानो आसनको ढाँचालाई हेरेर कलात्मक तरिकाले नयाँ आसन तयार गरिएकोे बताइएको छ । नयाँ आसनको लागत ७ लाख ५० हजार रुपैयाँ रहेको छ ।

हरेक दिन नियमित पुजाको लागि जीवित देवी कुमारी सो आसनमा बिराजमान हुनुहुने छ । यस अघिको आसन निकै पुरानो र जीर्ण भएको हुनाले नयाँ आसनको लागि वडाअध्यक्ष निर्मलरत्न शाक्यलाई एक वर्ष अघि आग्रह गरिएको स्मरण गर्दै महाविहारका आजु सिद्धिरत्न बज्राचार्यले  नयाँ आसन  बनाइदिएर वडाले संस्कृतिप्रति सम्मान गरेको अनुभूत गरेका छौं  भनि खुशी व्यक्त गर्नु भयाे ।

पहिलेको आसन नेपाल संवत् १०६१ मा हर्खराज बज्राचार्य र उहाँका परिवारले प्रदान गर्नुभएको थियो। जीवित देवी कुमारीको परम्परा नेपालकै एउटा पहिचानको अन्तर्राष्ट्रिय रुपमा परिचित छ । नेवाः संस्कृति र जात्रा पर्वमा जीवित देवीको विशिष्ट स्थान रहेको छ । रातो मच्छिन्द्रनाथ तान्ने बेला, भोटो जात्रा, बडा दशैको अवसरमा पाटन दरबार क्षेत्रमा हुने पुजाआजामा कुमारीलाई आसनमा राखेर उपस्थिति गराउने परम्परा रहँदै आएको छ ।

Categorized in उपत्यका