पिसिआर परीक्षणका लागि थप १० प्रयोगशाला सञ्चालन गरिँदै
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ १३, शनिबार
काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप १० ठाउँमा कोभिड–१९ को पिसिआर विधिबाट परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने भएको छ ।
कोभिड–१९ को परीक्षणको दायरा बढाउनका लागि १० ठाउँमा प्रयोगशाला स्थापना गर्न थालिएको मन्त्रालयका इन्सिडेन्ट कमाण्ड सिस्टमका संयोजक डा गुणराज लोहनीले जानकारी दिनुभयो । उहाँका अनुसार मेची अस्पताल, डडेल्धुरा अस्पताल, दैलेख अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्र काठमाडौँ, सशस्त्र प्रहरी अस्पताल बलम्बु, पाल्पा अस्पताल तानसेन, धौलागिरि अस्पताल बागलुङ, धनकुटा अस्पताल, नेपाल प्रहरी अस्पताल र नेपाली सेना अस्पताल काठमाडौँमा प्रयोगशाला स्थापना गरिनेछ ।
अहिले मुलुकभर २३ स्थानमा पिसिआर विधिबाट कोभिड–१९ को परीक्षण हुने गर्दछ । मन्त्रालयले सम्भावित सङ्क्रमितको अवस्था हेरेर ती ठाउँमा प्रयोगशाला स्थापना गर्न थालेको हो । यी नयाँ १० ठाउँसँगै अब ३३ ठाउँबाट कोभिड–१९ को पिसिआर विधिबाट परीक्षण हुनेछ । नयाँ ठाउँबाट कोभिड–१९ को परीक्षण गरे दैनिक १० हजार जनाको परीक्षण गर्न सकिने मन्त्रालयले जनाएको छ । अहिले २३ प्रयोगशालाबाट दैनिक छ हजार पिसिआर विधिबाट परीक्षण गर्दै आइरहेको छ । अहिलेसम्म दुई लाख छ हजार २७१ जनाको पिसिआर परीक्षण गरिएको छ ।
काठमाडाैंका तीनजनासहित थप ५९३ मा संक्रमण
नेपालमा शुक्रबार थप ५९३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडाैंका तीन पुरूषमा पनि काेराेना पुष्टी भएकाे छ । योसँगै नेपालमा कुल सङ्क्रमित सङ्ख्या पुगेको एघार हजार ७५५ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेकाे नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले साे जानकारी दिए ।
मोरङ, झापा, सुनसरी, धनुषा, महोत्तरी, सिरहा, अझाम, बैतडी, बझाङ, बाजुरा, बारा, दार्चुला, गोरखा, कैलाली, कञ्चनपुर, कपिलबस्तु, रौतहट, सल्यान, नवलपरासी, पूर्व, काठमाडौं, सिन्धुली, कास्की, लमजुङ, बागलुङ, तनहुँ, स्यांजा, अर्घाखाँची, गुल्मी, पाल्पा, रुपन्देही, दाङ, प्युठानलगायतका जिल्लामा गरी ५९३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । नयाँ संक्रमितमा १०७ महिला र ४८६ जना पुरुष रहेको गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ हजार ७५५ पुगेको छ।
यीसहित शुक्रबारसम्म कुल डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ९८ पुगेको छ। मृतक २७ जनामा कोरोनाभाइरस देखिएको छ। रसुवाबाहेकका सबै ७६ जिल्लामा कोरोना देखिएको छ। विगत २४ घण्टामा ६ हजार ५ सय ३४ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म २ लाख ६ हजार बढीकाे पिसिआर परीक्षण भएको छ।
Categorized in राष्ट्रिय