पुल्चोक घटनाको जिम्मेवारी राज्यले लिनुपर्छ : गुथि विधयेकविरुद्ध एकीकृत आन्दोलन
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २२, सोमबार
काठमाडौं – रातो मछिन्द्रनाथ बुंगद्यःको रथयात्रा सम्पन्न गर्ने गराउने सम्बन्धमा हालै ललितपुरको पुल्चोकमा भएको अप्रिय घटनाको जिम्मेवारी राज्यले लिनुपर्ने गुथि विधयेकविरुद्ध एकीकृत आन्दोलनले जनाएको छ ।
सोमबार जारी गरिएकाे गुथिका संयोजक डा. महेशमान श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा मूलतः राज्य, स्थानीय प्रशासन तथा गुठी संस्थानको अकर्मण्यता र गैरजिम्मेवारीपनका कारण उक्त घटना घटेको उल्लेख छ ।
विज्ञप्तिमा पदीय दायीत्व सही रुपमा निर्वाह गर्न अक्षम ललितपुर प्रमुख जिल्ला अधिकारी तथा गुठी संस्थानका प्रमुखविरुद्ध अविलम्ब कारवाही हुनुपर्ने पनि माग पनि गुथिले राखेको छ ।
यसैगरी, रथयात्राका क्रममा प्रहरीद्वारा हिरासतमा राखेर झूठो अभियोगमा मुद्दा चलाउन खोजेकोमा गुथिले त्यसको घोर विरोध गर्दै उनीहरु सबैको अबिलम्ब रिहाइको माग पनि विज्ञप्तिमा गरेको छ ।
गुठी जस्तो प्रथाजन्य संस्था र रैथानेहरुको सम्पदा संस्कृतिमाथि राज्यद्वारा जारी राखेको अनुचित हस्तक्षेप र नियन्त्रणको दुष्परिणामले रातो मछिन्द्रनाथको रथजात्रा तथा पूजा पर्वमा जटिलता र समस्या देखिएको निष्कर्ष पनि विज्ञप्तिमा निकालिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘आदिवासी रैथाने समुदायहरु आफैले संस्थापित तथा संरक्षित जात्रा, पर्व, रिति, परम्परा संचालन कार्य स्वतन्त्र र स्वायत्त रुपमा हुन दिनुपर्दछ भन्ने अन्तर्राष्ट्रिय मान्यता र प्रचलन हो । तर नेपाल सरकारको वर्तमान व्यवहार गुठी जस्तो प्रथाजन्य संस्थाले प्राप्त गर्नुपर्ने स्वायत्तताको मूल्य मान्यता विपरित छ ।’
यस आन्दोलनले गुठीलाई प्रथाजन्य संस्थाको हैसियत प्रदान गर्न र गुठी संचालनमा सरोकारवाला समुदायलाई पूर्णतः स्वायत्तता र स्वतन्त्रता दिन पनि गुथिले विज्ञप्तिमार्फत् राज्य समक्ष माग राखेको छ ।
Categorized in उपत्यका