STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पुल उद्घाटनलाई लिएर कांग्रेस–नेकपाबीच तनाव, दमाैलीमा निषेधाज्ञा जारी

Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर १७, बुधबार

तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल केहीदिनदेखि आफ्नो गृहजिल्ला तनहुँमा छन् । पौडेलले मंगलबारमात्र तनहुँको ब्यास नगरपालिका र रिसिङ गाउँपालिका जोड्न सेती नदीमाथि बनाइएको पुलको उद्घाटन गरे। उक्त उद्घाटनप्रति नेकपा तनहुँले विरोध जनाएको थियो ।

विरोधका बाबजुद् पौडेलले जबरजस्ती उक्त पुल उद्घाटन गरेको नेकपाका स्थानीय नेताहरूले आरोप लगाए।

पौडेलले बुधबार अर्को बुल्दीखोला पुल उद्घाटन गर्ने तयारी गरेका छन्।

ब्यास नगरपालिकाका मेयर समेत रहेका तनहुँ कांग्रेसका सभापति बैकुण्ठ न्यौपानेका अनुसार पुल निर्माण उपभोक्ता समितिले उद्घाटनका लागि सबै निकायलाई पत्राचार गरिसकेको थियो। तर नेकपा तनहुँले उक्त पुल उद्घाटन गर्न नदिने भन्दै दमौलीमा प्रदर्शन गरेको छ।

पुल उद्घाटन रोक्न भन्दै नेकपा निकट युवा संघको ब्यानरमा दमौलीमा विरोध जुलुस निस्किएको छ। कांग्रेसले जबरजस्ती गरेको भन्दै विरोध जुलुस निकालेको नेकपा तनहुँका अध्यक्ष केदार सिग्देलले बताए।

प्रदेश सरकार मातहत बनेको उक्त पुल निर्माण गर्न रामचन्द्र पौडेलले विशेष योगदान रहेको तनहुँ कांग्रेस सभापति न्यौपाने बताउँछन्।

उनका अनुसार पुलमा प्रहरी तैनाथ गरिएको छ। उक्त पुल वरिष्ठ नेता पौडेलकै पहलमा बनेको उनले दाबी गरे।

न्यौपानेले नेकपाले गुण्डागर्दी गरेको समेत आरोप लगाए। नेकपा र प्रशासन एकातर्फ लागेको आरोप लगाउँदै उनले गृहसचिवले समेत हस्तक्षेप गरेको दाबी गरे।

झडपको स्थिति बनेपछि पुल भएको क्षेत्रमा निषेधाज्ञा जारी गरेको तनहुँका प्रमुख जिल्ला अधिकारी सागर अचार्यले बताए। पुल उद्घाटनका विषयलाई लिएर दमौलीमा कांग्रेस र नेकपाबीच झडप हुने अवस्था आएको सिडिओ आचार्यले बताए।

उनले बुल्दी पुल भएको क्षेत्रलाई अहिले दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको बताए । यता, कांग्रेसले पनि पुल उद्घाटन गरेरै छाड्ने बताएको छ।

Categorized in राजनीति