पुष्पराज शाक्यको ‘यो मन मेरो मन’ को म्युजिक भिडियो सार्वजनिक (म्यूजिक भिडियाेसहित)
Janjati Khabar – विजयरत्न असंबरे | २०७८ बैशाख ११, शनिबार
यो मन मेरो मन कहिल्यै नबलिदिनु
दुःखमा न आत्तिदिनु सुखमा न मात्तिदिनु
यो मन मेरो मन कहिल्यै नबलिदिनु
गायक, रचनाकार तथा संगीतकार पुष्पराज शाक्यको ‘यो मन मेरो मन’ गीतको म्यूजिक भिडियो शनिबार एक कार्यक्रमका बीच सार्वजनिक भएको छ ।
विभिन्न सामाजिक परिस्थितिका कारण अशान्त मनको प्रभावमा पनि मन शान्त होस्, दृढ होस् भन्ने भावले यो गीत सृजना गरेको सर्जक पुष्पराजले बताउनु भएको छ ।
म्यूजिक भिडियो लोकार्पण गर्नुहुँदै कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ सिनेपत्रकार एवं नेपालभाषाका प्रथम म्युजिक भिडियो निर्देशक विजयरत्न असंबरेले नेपालभाषामा धेरै गीत गाइसक्नु भएका कलाकार शाक्यको यो पहिलो नेपाली गीत सुन्दर बनेकोले लोकप्रिय हुनेमा आशावादी रहेको बताउनु भयो ।
कार्यक्रममा अतिथि नेवाः पत्रकार राष्ट्रिय दबूको अध्यक्ष एवं कलाकार सुरजवीर बज्राचार्यले यहि सुन्दर गीतको माध्यमबाट प्रतिभाशाली कलाकार पुष्पराज शाक्यको नेपाली सांगीतिक क्षेत्रमा सुखद उपस्थिति बनोस् भनी शुभकामना ब्यक्त गर्नुभयो ।
कार्यक्रममा अतिथि निर्देशक सुरेन्द्र तुलाधरले गीतको प्राविधिक पक्षको समेत तारिफ गर्दै सर्जक पुष्पराजको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।
भूपेन्द्र बज्राचार्यको संगीत संयोजनमा ज्योति रेकर्डसमा रेकर्ड भएको यस गीतको मिक्सिङ फिरोज बज्राचार्यले गर्नुभएको हो । वाद्यवादकहरु सिमरन महर्जन तथा आशिष बज्राचार्यको अभिनय रहेको यस म्यूजिक भिडियोको छायाँकन, सम्पादन तथा निर्देशन अमर चित्रकारले गर्नुभएको हो ।
सि–लभ रेष्ट्रो एण्ड बार कनिबहालमा आयोजित कार्यक्रममा गीत तथा म्यूजिक भिडियो निर्माणमा सघाएका ब्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।
भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेला
Categorized in साहित्य-कला

