STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रकृतिको नाममा ‘मनोविमर्श संस्था’ स्थापना गर्दै ओडिसा सरकार

Janjati Khabar – Janjati Khabar | २०८१ फाल्गुण ८, बिहिबार

काठमाडौं - भारतको ओडिसा प्रदेश सरकारले नेपाली विद्यार्थी प्रकृति लम्सालको नाममा मनोविमर्श संस्था स्थापना गर्ने प्रतिवद्धता जनाएको छ।  

सरकारले आइतबार मृत भेटिएकी कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)की विद्यार्थी लम्सालको नाममा संस्था स्थापना गर्न लागेको हो। 

बिहीबार नेपाली राजदूतावास दिल्लीका प्रहरी कन्सुलर एसएसपी संजीव शर्मा दाससहितको टोलीसँग भएको छलफलमा उडिसा सरकारका स्वाास्थ्य मन्त्री मुकेश महालिङले उनको नाममा संस्था स्थापना गर्ने प्रतिवद्धता जनाएका हुन्।

नेपाली दूतावासका प्रतिनिधिहरूले स्वास्थ्यमन्त्री महालिङसँगै शिक्षामन्त्री सूर्यवंशी सुरज र मुख्यसचिव मनोज आहुजासँग छलफल गरेका थिए। 

स्टेट गेष्टहाउ एनएक्समा भएको छलफलमा नेपाली टोलीले विद्यार्थीहरूलाई कलेजबाट तनाव दिइएको भन्दै मन्त्री र मुख्यसचिवको ध्यानाकर्षण गराएका थिए। 

ओडिसा सरकारले पनि कलेजले गरेको दुर्व्यवहारपछि हिँडेका विद्यार्थीलाई पुनः कलेज फर्किन अपिल गर्ने भएको छ।

कलेज प्रशासनले बुधबार नै माफी मागेर विद्यार्थीलाई कक्षामा फर्किन भनिसकेको छ। कलेज प्रशासनले बुधबार शोकसभा गर्दै घटनाबारे दुस्ख व्यक्त गरेको थियो। 

भारतीय सञ्चारमाध्यमका अनुसार प्रकृतिसँग प्रेम सम्बन्ध रहेको भनिएका त्यही विश्वविद्यालयका भारतीय विद्यार्थी २१ वर्षीय आद्विक श्रीवास्तव, कलेजका मानव स्रोत महानिर्देशक ५९ वर्षीय शिवनन्द मिश्र, कलेजका प्रशासन निर्देशक ५० वर्षीय प्रतापकुमार चमुपती, छात्रावास निर्देशक ५९ वर्षीय सुधीरकुमार राठ तथा सुरक्षा गार्डहरू रमाकान्त नायक र जोगेन्द्र बेहेरालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रकृति लम्साल मृत भेटिएपछि केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थी विरोधमा उत्रिँदा कलेज व्यवस्थापनले उनीहरूलाई कुटपिट गर्दै बलजफ्ती छात्रावासबाट निकालिएको थियो। 

यसअघि केआईआईटीले २ सुरक्षा गार्डलाई बर्खास्त र ३ कर्मचारीलाई निलम्बन गरेको थियो।

घटनाको निष्पक्ष छानबिन र दोषीलाई कानुनी कारबाहीका लागि नेपाल सरकारले पहल गरिरहेको जनाएको छ भने भारतीय पक्षले पनि यसका लागि प्रतिबद्ध भएको जनाएको छ। 

Categorized in राष्ट्रिय