प्रचण्ड आज भारत भ्रमणमा जाँदै
Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ ३१, शुक्रबार
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' आज भारत भ्रमणमा जाँदैछन्।
भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा 'प्रचण्ड' आज नयाँदिल्ली प्रस्थान गर्न लागेका हुन्।
प्रचण्डको सचिवालयकाअनुसार माओवादी अध्यक्ष प्रचण्डलाई नयाँ दिल्लीस्थित दीनदयाल उपाध्याय मार्गमा रहेको भाजपा मुख्यालयमा स्वागत गरिने छ।
जहाँ भाजपा अध्यक्ष जेपी नड्डासँग भाजपा मुख्यालयमै भेटवार्ता हुने तय भएको छ। यस अवसरमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवालेसहित केही अन्य शीर्षस्थ नेताहरूको उपस्थिति हुने बताइएको छ।
तीन दिने भारत भ्रमणको क्रममा माओवादी अध्यक्ष प्रचण्ड र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालबीच भेटवार्ता तय भएको छ। यस्तै भारतका विदेशमन्त्री एस जयशंकर र विदेश सचिव विनय मोहन क्वात्रासँग पनि प्रचण्डको भेंट तय गरिएको छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट हुने/नहुने अहिले निश्चित छैन। यद्यपि भेटको समय मिलाउने प्रयास भइरहेको बुझिएको छ।
प्रचण्डले दिल्ली बसाईको क्रममा एक सेमिनारमा प्रमुख वक्ताको रूपमासमेत सहभागी हुने बताइएको छ। त्यस्तै दिल्लीस्थित नेपाली राजदूतावासले प्रचण्डको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछ।
प्रचण्ड साउन १ गते आइतबार स्वदेश फर्किने जनाइएकाे छ ।
Categorized in राजनीति

