प्रतिनिधिसभातर्फ २१२८ र प्रदेशसभातर्फ २८४५ उम्मेदवारी दर्ता
Janjati Khabar – Janjati Khabar | २०७९ आश्विन २३, आइतबार
काठमाडौं - आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरीबाट दुई हजार १२८ जनाले उम्मेदवारी दिएका छन् । १६५ पदका लागि एक हजार ९३७ जना पुरुष र १९१ जना महिलाले विभिन्न दल तथा स्वतन्त्रबाट सो संख्यामा उम्मेदवारी दर्ता गराएका हुन् ।
निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलकाअनुसार आज आइतबार विहान १० बजेबाट साँझ ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई उम्मेदवारले आफ्नो मनोनयन दर्ता गराएका हुन् ।
प्रवक्ता पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “आयोगको सूचना प्रणालीमा प्रविष्ट भएका आधारमा प्रतिनिधिसभा अन्तर्गत देशभर १९३७ पुरुष र १९१ महिला गरी कूल २१२८ उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।”
सोहीअनुसार प्रदेशसभातर्फ २६०० पुरुष, २४४ महिला र १ अन्य गरी २८४५ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ । प्रवक्ता पौडेलका अनुसार प्रदेश नं. १ मा ४४५ पुरुष, ४९ महिला गरी ४९४ जनाले उम्मेदवारी दर्ता गराए। त्यस्तै, मधेश प्रदेशमा ७११ पुरुष, ५५ महिला र १ अन्य गरी ७६७ जनाले उम्मेदवारी दर्ता गराए ।
सोहीअनुसार बागमती प्रदेशमा ५६१ पुरुष, ७४ महिला गरी ६३५ जना, गण्डकी प्रदेशमा १९९ पुरुष, २९ महिला गरी २२८ जना, लुम्बिनी प्रदेशमा ४१४ पुरुष, २३ महिला गरी ४३७ जना, कर्णाली प्रदेशमा ७९ पुरुष, २ महिला गरी ८१ जनाले उम्मेदवारी दर्ता गराउनुभयो । त्यस्तै, सुदुरपश्चिम प्रदेशमा १९१ पुरुष, १२ महिला गरी २०३ उम्मेदवारहरूले प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराए । कतिपय जिल्ला र निर्वाचन क्षेत्रमा सञ्चार सम्पर्क सहज नभएकाले एकिन विवरण प्रविष्ट हुन बाँकी रहेको आयोगको भनाइ छ ।
प्रमुख दलका नेताहरुमध्ये प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले वारेसमार्फत डडेलधुराबाट मनोनयन दर्ता गराए ।एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा ५, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गोरखा २, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहट २, जसपा अध्यक्ष उपेन्द्र यादवले सप्तरी २ बाट मनोनयन दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गर्न नेताहरू कार्यकर्ता लिए। बाजागाजासहित पुगेका थिए ।
आगामी निर्वाचनमा कांग्रेस नेतृत्वमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाको गठबन्धन हुँदा एमालेले पनि जसपा, राप्रपा नेपाल, राप्रपा नेपाल लगायतका दलसँग केही सिटमा गठबन्धन गरेको छ ।
आयोगका अनुसार असोज २४ गते भोली विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता भएका कुनै पनि उम्मेदवारविरुद्ध सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने कार्यक्रम तय भएको छ ।
Categorized in राष्ट्रिय

