STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रत्यारोपण सम्मेलन हुने

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ५, बिहिबार

अङ्ग प्रत्यारोपण, मस्तिष्क मृत्यु तथा अङ्गदानका क्षेत्रमा विकसित नवीनतम प्रविधि, ज्ञान, सीप एकापसमा आदानप्रदान गर्ने ध्येयले यही वैशाख ७ र ८ गते प्रत्यारोपण सम्मेलन आयोजना हुने भएको छ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र नेपाल–भारत अङ्ग प्रत्यारोपण समाजको संयुक्त सहकार्यमा काठमाडौँमा पहिलो पटक सो दुईदिने सम्मेलन हुन लागेको हो । सम्मेलनमा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन सार्क लगायत बेलायत, जापान, थाइल्याण्ड, अमेरिकाका अङ्ग प्रत्यारोपण विशेषज्ञ, चिकित्सक एवम् नेपालका सबै जिल्लाका अस्पताल प्रमुख तथा नर्सिङका पदाधिकारीको सहभागिता हुने आयोजक समितिका संयोजक एवम् वरिष्ठ अङ्ग प्रत्यारोपण विशेषज्ञ प्राडा पुरकारचन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सम्मेलनको तयारी लगभग पूरा भयो । सम्मेलनको मुख्य ध्येय विकसित देशहरुको अङ्ग प्रत्यारोपणको अवस्था, अनुभव र हाम्रो देशमा भएको प्रत्यारोपणको अवस्था र अनुभव आदानप्रदान गर्नु हो । साथै यस क्षेत्रमा विकसित पछिल्ला प्रविधिका बारेमा पनि छलफल गर्नु हो ।” सन् २००८ देखि नेपालमा मिर्गौला प्रत्यारोपण शुरु भएको हो । अहिलेसम्म एक हजार दुई सयभन्दा बढीको मिर्गौला प्रत्यारोपण भइसकेको छ । हाल शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसहित चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठान ९न्याम्स० अन्तर्गतको वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय, चिकित्सा विज्ञान अध्ययन संस्थानमा मिर्गौला प्रत्यारोपण हुने गर्दछ । साथै पछिल्लो सयम केही निजी अस्पतलामा पनि मिर्गौला प्रत्यारोपण गर्न थालिएको छ । सम्मेलनको नारा ‘ब्रिजिङ द ग्याप’ राखिएको छ । संयोजक प्राडा श्रेष्ठले नेपालको प्रत्यारोपण सेवालाई अझ विस्तार गर्न सम्मेलन कोशेढुङ्गा हुने बताउनुभयोे । सम्मेलनको पहिलो दिन प्रत्यारोपण र मस्तिष्क मृत्युबारे छलफल गरिने भएको छ ।
Categorized in राष्ट्रिय