STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रत्येक दुर्गम क्षेत्र अबको तीन वर्षभित्र सुगम बन्नेछन् ः सांसद बस्नेत

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १५, बुधबार

सूर्यविनायक नगरपालिका–९ नंखेलमा निर्माण भएको ट्रस पुल सञ्चालनमा ल्याइएको छ । सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले उद्घाटन गर्नुभएको सो पुल उहाँकै पहलमा निर्माण गरिएको हो । सांसद बस्नेतले भक्तपुरका प्रत्येक दुर्गम क्षेत्रलाई अबका तीन वर्षभित्र सुगम बनाइने घोषणा गर्दै अरनिको राजमार्गबाट १५० मिटरभित्र रहेर पनि दुर्गम नंखेल अब सुगममा परिणत हुने बताउनुभयो । उहाँले भन्नुभयो, “भक्तपुरको सडकदेखि खानेपानीसम्मका सबै आयोजनाको डिपिआर बनाइसकेका छौँ, अब कार्यान्वयनमा जाँदैछौँ, अबको तीन वर्षमा भक्तपुरको प्रत्येक गाउँमा सडक, खानेपानीदेखि पुलसमेत पुग्नेछ ।” उहाँले पलासेदेखि डोलेश्वरसम्मको सडक निर्माण दशैँअघि नै सम्पन्न हुने, मासपाटीदेखि जोरपाटी सडक, भातेढिकुरदेखि नंखेल जाने सडक, पलासेदेखि काँक्राबारी जाने सडक केन्द्रीय योजनामा पार्न सफल भएको बताउनुभयो । सांसद बस्नेतले दिव्येश्वरी तथा बृहत् खानेपानी आयोजनाले ३०० घरलाई खानेपानी पुग्ने गरी ल्याउन लागेको बताउँदै उहाँले अब सूर्यविनायक क्षेत्रमा खानेपानीको अभाव नहुने र नयाँ खानेपानीको मुहानलाई व्यवस्थित गरिने बताउनुभयो । वडा नं ९ का वडाध्यक्ष उपेन्द्र केसीले सूर्यविनायक नगरपालिकाको रू ११ लाख र ट्रस पुल निर्माणका तर्फबाट रु ११ लाख गरी कूल रु २२ लाखको लागतमा पुल निर्माण गरिएको र यसबाट यहाँका बासिन्दालाई निकै सहज भएको बताउनुभयो ।
Categorized in राष्ट्रिय