STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रदूषित पानी पिउन बाध्य

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १, बुधबार

जिल्लामा रहेका खानेपानी आयोजनाबाट वितरित खानेपानी प्रदूषित रहेको पाइएको छ । स्वास्थ्य कार्यालय चितवनले आर्थिक वर्ष २०७४र७५ र २०७५र७६ मा गरेको अनुगमनका क्रममा खानेपानी आयोजनाबाट वितरित पानी प्रदूषित पाइएको हो । कार्यालयले मङ्गलबार यहाँ आयोजना गरेको ‘मेरो वर्ष २०७६ स्वास्थ्य प्रवद्र्धन’ अभियानको सरोकारवालाबीचको अन्तक्र्रिया तथा खानेपानी गुणस्तर सार्वजनिक कार्यक्रममा सो कुराको जानकारी गराइएको हो । सो अवसरमा जनस्वास्थ्य अधिकृत अनुप अधिकारीले जिल्लामा ५७ प्रतिशत उपभोक्ताले प्रदूषित पानीको प्रयोग गर्ने गरेको बताउनुभयो । दुई वर्षमा जिल्लामा खानेपानी सुरक्षा योजना लागू भएका २१ आयोजनाको अनुगमनका क्रममा नौ आयोजनाले मात्र शुद्ध पिउने पानी उपलब्ध गराउने गरेको पाइएको अधिकारीले जानकारी दिनुभएको थियो । अन्य १२ आयोजनाले वितरण गरेको पानीमा इकोलाइ नामक कीटाणु देखिएको अधिकारीले बताउनुभयो । अहिले उपभोक्ताले प्रयोग गर्दै आएको पानीमा मानिसको दिसामा हुने कीटाणु भेटिएको उहाँले बताउनुभयो । यसका कारण सरुवा रोगको महामारी आउनसक्ने सो अवसरमा जानकारी दिइएको थियो । अनुगमनका क्रममा माडीमा रहेका दुई, इच्छाकामना गाउँपालिकाका दुई र अन्य पूर्वी चितवन तथा पश्चिम चितवनका आयोजनाको पानी प्रयोगशालमा ल्याई परीक्षण गरिएको थियो । कार्यालयले विगत तीन वर्षदेखि खानेपानीको गुणस्तर मापन गर्दै आएको छ । अनुगमनका क्रममा आयोजनाको भौतिक अवस्था, ‘केमिकल’को प्रयोग र पानीको गुणस्तरका विषयमा अध्ययन गरिएको थियो । अध्ययनका क्रममा जमीनमुनिबाट ९बोरिङ गरी० ल्याइएको पानीबाहेक अन्यमा समस्या देखिएको उहाँले जानकारी दिनुभयो । पुराना धारामा पानीको पाइप बाटोमा गएर फुट्ने र ढल मिसिने गरेकाले उपभोक्ताले प्रदूषित पानी पिउन बाध्य भएको पाइएको छ । सडक निर्माणका क्रममा पानीको पाइपलाई ध्यान नदिँदा यस्तो समस्या आएको सो अवसरमा जानकारी गराइएको थियो । पानीको गुणस्तर अध्ययनका क्रममा पानीको स्रोत, भण्डारण गर्ने स्थान र उपभोक्तासम्म पुग्ने धाराहरुलाई मध्यनजगर गर्दै गरिएको थियो । पानीमा देखिएको प्रदूषणका कारण सरुवा रोगको महामारी आउन सक्ने भन्दै सबै जनता सचेत भएर पानीलाई शुद्ध बनाएर मात्र पिउन आवश्यक रहेको सो अवसरमा जानकारी दिइयो । पानीलाई शुद्ध बनाउन आयोजनाले नयाँ प्रविधिका पाइपहरु जडान गर्नुपर्ने, पानीमा क्लोरिन राखेर पिउने, उमालेर मात्रै पानी पिउने, फिल्टर गरेको पानी प्रयोग गर्नेलगायतका उपाय अपनाउन सकेमा महामारीबाट बच्न सकिने अधिकारीले जानकारी दिनुभयो । जिल्लामा ९० प्रतिशत जनता खानेपानी आयोजनाको पहुँचमा रहेको सो अवसरमा जानकारी दिइएको थियो ।
Categorized in उपत्यका