प्रदेश मन्त्रालय घटाएर खर्चभार कटौती गर्दैछौँ : प्रधानमन्त्री दाहाल
Janjati Khabar – Janjati Khabar | २०७९ माघ ९, सोमबार
काठमाडाैं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशका मन्त्रालयको संख्या घटाउने र खर्चभार कतौती गर्ने बताएका छन् । सोमबार बिहान सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको नेतृत्वमा प्रदेशका मन्त्री, सांसद र नेताहरूको टोलीसँग प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।
बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले भने, प्रदेशका संरचना भद्दा हुँदा प्रशासनिक खर्च बढेको, वित्तीय सुशासन कायम हुन नसकेको जनगुनासोबारे हामी सचेत छौँ। तर, यसलाई पारदर्शी र मितव्ययी बनाउन जरूरी छ ।’’
सत्ता साझेदार दलको बैठकमा प्रदेशलाई चुस्त बनाउने र वित्तीय सुशासन कायम गर्ने प्रस्ताव गरेको र त्यसमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायत सबै नेताहरू सहमत भएको प्रधानमन्त्री दाहालकाे भनाइ छ ।
प्रधानमन्त्री प्रचण्डले प्रदेशहरूले नीतिगत र स्थानीय साधनस्रोतको अधिकतम परिचालनमा प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्रीले आफू छिटै राष्ट्रिय गौरवका आयोजना र अन्य ठूला योजनाहरूको स्थलगत निरीक्षणमा निस्किने बताए ।
Categorized in राजनीति

